Logo
Logo

विप्लवनिकट विद्यार्थी युनियनकाे राष्ट्रिय सम्मेलन असोजमा



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले असोज महिनामा २२ औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोजक समितिले चिरन्जीबी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिएको छ । अखिल (क्रान्तिकारी) २२ औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसको पुर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो ।

बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको बताए । अखिल क्रान्तिकारीको विधान तथा प्रतिवेदन लेखन उपसमितिको संयोजकमा चिरन्जीबी ढकाललाई जिम्मेवारी दिईएको छ । यस्तै सदस्यहरुमा प्रकाश शाही, विरेन्द्र बिक, मिलन राई, बिरेन्द्र शाख र शारदा भण्डारी रहेका छन् । यसैगरी, आर्थिक उपसमितिमा संयोजक प्रकाश शाहीलाई तोकिएको छ भने मिलन राई, नवराज भट्ट, अटल पाण्डे लगायत सदस्यहरु रहेका छन् ।

ढकालले सम्मेलनमा शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजिवीकासँग सम्बधित विषयहरुमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको बताए । सम्मेलनले नेपालको शिक्षा र शिक्षा प्रणालीको बारेमा बहस छेड्ने उनले बताए । अहिलेको बेरोजगार शिक्षा प्रणालीको अन्त्य हु्नुपर्नेमा उनले जोड दिएका छन् ।

‘अबको शिक्षा वैज्ञानिक समाजवादी शिक्षाको अपरिहार्य आवश्यकताको बारेमा सम्मलेनमा बहस हुनेछ,’ संयोजक ढकालले भने, ‘अहिलेको शिक्षाको कुनै अर्थ छैन् । यो शिक्षाले नेपालका प्राकृतिक श्रोत र मानविय आकांक्षालाई पूर्ति गर्न सकेको छैन ।’ कक्षा ११ र १२ कक्षाका परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर तत्काल संचालन गर्नुपर्ने माग उनले गरे । शैक्षिक संस्थाहरुले कोभिड अवधिको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गर्न समेत माग गरे ।

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था कडाईको साथ कार्यान्यवन गर्न ढकालले माग गरे । यस्तै पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि खारेज गर्नुपर्ने उनको माग थियो । २०७७ साल फागुन २२ गते नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच भएको ३ बुंदे सहमती तत्काल कार्यान्वयन गर्न समेत सरकारलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्