Logo
Logo

भोली सोमबार पार्टी एकताको सबै टुंगो लाग्छ : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टी एकताले पूर्णता पाउने बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, यस्तो दावी गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष दाहालले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने बताए । पुर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले आज (आइतबार बिहान) मात्रै बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको बताउँदै भने, ‘बेलुका पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइन्छ ।’
‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ’ उनले भने, ‘सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’ उनले पार्टी विधान समेत अन्तिम चरणमा पुगेको भन्दै केही दिनमै पारित गरिने बताए ।
पार्टी एकताको टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेललगायतका नेताहरू सक्रिय छन् । सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूका बीचमा पनि छलफल भइरहेको छ ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्