Logo
Logo

जयसिंह धामी बेपत्ता प्रकरणः तुइन घटनामा पन्छियो छानबिन समिति



काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुइन खुस्काइदिएपछि’ महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको घटनास्थल भारतीय भूमिमा भएको र अनुसन्धानका लागि सबुत प्रमाण फेला नपरेको भन्दै छानबिन समिति पन्छिएको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले एक महिना लगाएर गरेको छानबिनमा ‘घटनास्थल भारतीय भूमि गस्कु भएकाले उक्त घटनाको नेपालतर्फबाट औपचारिक अनुसन्धान गर्न कानुनी जटिलता रहेको’ निष्कर्ष निकालेको हो ।

सरकारी उच्च स्रोतका अनुसार यही निष्कर्षका साथ प्रतिवेदन लेखनलाई अन्तिम रूप दिएर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाउने तयारीमा समिति छ । त्यसकै लागि सोमबार दिनभरि समितिका संयोजक र सदस्यहरूले गृह मन्त्रालयमा छलफल गरेका थिए तर प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन नसकिएको भन्दै अझै ३ दिन समय बढाउन प्रस्ताव आएको स्रोतले कान्तिपुरलाई बतायो ।

सोमबार सार्वजनिक बिदा भएका कारण मंगलबार चौथो पटक बढीमा तीन दिन समय तोकेर म्याद थप गर्न लागिएको र यस पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको छ ।

लाखौं रुपैयाँ खर्च हुने गरी भएको सरकारी छानबिन समितिको यो निचोडसँगै ‘एसएसबीका जवानले तुइनको लट्ठा खुस्काइदिएपछि’ नदीमा खसेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीका परिवारले न्याय पाउने र अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने सम्भावना कमजोर बनेको हो ।, यो समाचार कान्तिपुर दैनिकाबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्