Logo
Logo

गृहमन्त्रीको अच्चमको ताल



काठमाडौं । केपी ओलीको शासनकालमा गृह प्रशासन बालुवाटारको कब्जामा थियो । ओलीको हस्तक्षेपका कारण अस्तव्यस्त भएको गृह प्रशासन नयाँ सरकार आएपछि झन् बिग्रिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणलाई गृह प्रशासनमा कुनै मतलब छैन । गृहको कुनै अनुभव नै नभएका टेकनारायण पाण्डेलाई सचिवमा ल्याइएकाले पनि मन्त्रालयमा सुरक्षा बुझ्ने कर्मचारी कोही छैनन् । गृह बुझ्ने प्रवक्ता फणिन्द्रमणि पोखरेल बाहेक सबै सिडिओ बनेर जान खुट्टा उचालेर बसेका छन् ।

मन्त्रीलाई नै कुनै मतलब नभएपछि कर्मचारीको सक्रियता हुने कुरा पनि भएन । गृहमन्त्री खाण कतिसम्म लापरबाह छन् भन्ने कुरा आइतबार देखियो ।

इप्रका बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु शंकास्पद भएको भन्दै कुरा उठेपछि दुई साताअघि गृह मन्त्रालयले सहसचिव सुनिल खनालको नेतृत्वमा छानबिन समिति गठन ग¥यो । सुरुमा १० दिनको म्याद दिइएकोमा त्यसभित्र काम सकिएन । फेरि पाँच दिन थपियो । जुन म्याद आइतबार सकिदै थियो । आइतबार सबेरै समितिले प्रतिवेदनलाई अन्तिम रुप दियो । मन्त्रीलाई बुझाउन भन्दै समितिका पदाधिकारी दिनभर मन्त्रालयमा बसे । साँझ मात्र मन्त्री आउने कुरा आयो । मन्त्री खाण त आए तर त्यसमा चासो दिएनन् । आफ्ना केही कार्यकर्ता भेटेर मन्त्रालयबाट निस्किए । मन्त्रीको ताल देखेर छानबिन समितिका पदाधिकारीहरु नै अचम्ममा परे ।

आफैंले गठन गरेको समितिको प्रतिवेदन समेत बुझ्न चासो नदेखाउनु व्यस्तता मात्र नभई चरम लापरबाही र कार्यक्षमताको अभाव भएको मन्त्रालयका कर्मचारी बताउँछन् ।

त्यतिमात्र होइन दार्चुलाका जयसिंह धामी बेपत्ता भएको एक महिना भइसकेको छ । १० दिनको समय दिएर गठन भएको छानबिन समितिले ३२ दिन हुँदा समेत प्रतिवेदन बुझाएको छैन । यसमा त मन्त्री खाणको भूमिका निकै सन्देहपूर्ण देखिएको छ । उनले सकेसम्म ढिला प्रतिवेदन बुझाउन निर्देशन दिएको स्रोत बताउँछ । भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । अझै उनको पत्ता लागेको छैन ।

यस्ता गम्भीर विषयमा चासो नभएका मन्त्री खाणलाई प्रहरीका लेखापालको सरुवामा भने ठूलो चासो छ । संगठन नीति नै बिगारेर भए पनि आफु निकटहरुलाई महत्वपूर्ण कार्यालयमा सरुवा गर्न उनी लागिपरेका छन् । पार्टीको महाधिवेशन खर्च उठाउन भन्दै उनले लेखापाल सरुवमा चलखेल गरेको गृह मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्