काठमाडौं । दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले आज अदालत जाने भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो । एमालेले कारबाही गरेका १४ जनासहित ३० सांसद र ५५ केन्द्रीय सदस्यको सनाखतलाई मान्यता दिएर आयोगले ९ भदौमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो ।
नेकपा एमालेले कारबाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएको आयोगविरुद्ध मुद्धा हाल्ने भएको हो ।











