Logo
Logo

एमसिसी उपाध्यक्ष नेपाल आउँदै



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन् ।

५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि कार्यान्वयन अघि बढ्न नसकिरहेका बेला उपाध्यक्ष सुमार सेप्टेम्बर ९ मा नेपाल आउन लागेकी हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी कार्यान्वयन अवस्थाबारे जानकारी लिने बताइएको छ । सन् २०१७ मा देउवा नै प्रधानमन्त्री भएका बेला पूर्वाधार निर्माणमा खर्च गर्नेगरी उक्त परियोजना भित्र्याउने सम्झौता भए पनि पछिल्लो समय यो परियोजना राजनीतिक दाउपेचको विषय बनेको छ।

परियोजना कार्यान्वयनका लागि संसद्बाट अनुमोदन हुनुपर्छ। उक्त परियोजनामा अमेरिकाको रणनीतिक स्वार्थ लुकेको भन्दै कतिपय राजनीतिक दल तथा नेताले कार्यान्वयन गर्न नहुने तर्क अघि सारेका छन् ।

यो परियोजना कार्यान्वयनमा सत्तारुढ नेपाली कांग्रेस तयार भए पनि गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र सम्झौतामा उल्लेख भएका विषय परिमार्जन नगरी कार्यान्वन गर्न नहुने पक्षमा छ ।

ओली प्रधानमन्त्री रहेका बेला एमालेका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा गठन भएको कार्यदलले एमसिसी हुबहु कार्यान्वयन गर्न नहुने प्रतिवेदन सरकारलाई बुझाएको थियो । खनाल अहिले एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवाद) मा छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्