Logo
Logo

ठगियो नगरपालिका, उन्मुक्ति पाउँदै ठेकेदार


रुपेन्द्र पटेल


रौतहट । व्यक्ति तथा निजी संस्था ठगिने गरेको ‘चेक बाउन्स’बाट सरकारी कार्यालयसमेत पीडित बन्न थालेका छन् । बुझाउनुपर्ने पर्याप्त रकम नभएको बैंक खाताबाट चेक भुक्तानी गर्नु चेक बाउन्स हो । यस्तो कार्य बैंकिङ कसुरमा अपराध ठहरिन्छ । तर, रौतहटको एक नगरपालिकालाई खातामा पैसा नभएको चेक दिने निर्माण व्यवसायीले भने सहजै उन्मुक्ति पाउने भएका छन् ।

रौतहटको फतुवाविजयपुर नगरपालिकाले एकजना व्यवसायीबाट पाएको एक करोड ११ लाखको चेक बाउन्स भएको छ । भुक्तानीको टुंगो छैन । ठेकेदारले दिएका करोडौँ रुपैयाँका चेक नसाटिदासमेत सो नगरपालिकाले उठाउनेतिर ध्यान दिएको छैन् । सो नगरपालिकाले चेक नसाटिदा पनि राजस्व असुलीका लागि थप प्रयास नगरेको महालेखाले जनाएको छ ।

यसरी चेकमार्फत भुक्तानी लिँदा बाउन्स हुन थालेपछि भुक्तानीको माध्यम नै परिवर्तनको आवश्यकता देखिएको छ । साह निर्माण सेवाका सञ्चालक तथा नेपाली कांग्रेसका नेतासमेत रहेका नागेन्द्र साहले फतुवा बिजयपुर नगरपालिकाको बकैया खोला उत्खनन् गरेवापत एक करोड ११ लाखको चेक नगरपालिकालाई दिएका थिए ।

नगरपालिकाले सो रकम असुलीका लागि पटक पटक ताकेता गर्दासमेत सुनुवाइ नभएपछि जिल्ला अदालत गौरमा चेक बाउन्सको मुद्धा दर्ता गराएको छ । नगरपालिकाले चेक बाउन्सको मुद्धा दर्ता गराउँदासमेत ठेकेदार साहले ‘म पैसा तिर्दिन जसरी असुल्नु छ, असुल्नु’ भन्दै नगरपालिकालाई नै धम्की दिने गरेको सो नगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रमोद गुप्ताले दृष्टि न्युजलाई बताए ।

ठेकेदार साहले सो खोलाबाट उत्खनन् गरेको गिट्टी बालुवा भने नगदै सोही समयमा बिक्रि बितरण गरिसकेका छन् । नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा रौतहट क्षेत्रनं १ बाट चुनाव लडेका निर्माण व्यावसायी साहले भने आफुले खोला उत्खनन् गर्ने बेलामा सम्झौता नगरेका कारण पैसा नतिरेको बताउँदै आएका छन् । तपाइँले नगरपालिकाको पैसा किन नतिरेको भन्ने बिषयमा साहले दृष्टि न्युजसँग भने, ‘नगरपालिकाले मसँग सम्झौता नै गरेको थिएन । कसरी पैसा तिर्ने ?’

प्रतिक्रिया दिनुहोस्