Logo
Logo

नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर



काठमाडौं । एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ ।

भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ भने नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराएको छ ।

तर न भारतले अनधिकृत उडान रोकेको छ न नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छ । महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो ।

साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।

भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्तीमात्र होइन, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ । दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको थियो । लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

पत्रको बोधार्थ नेपाली सेनाको मुख्यालयलाई पनि पठाइएको थियो । सेनाको पत्रपछि प्रशासनले त्यसको जानकारी गृह मन्त्रालयलाई पनि पठायो । परराष्ट्रमार्फत पहल गर्नुपर्नेमा गृह मन्त्रालय नै मौन बसेको छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्