Logo
Logo

वाग्मतीमा सामूहिक खेती फस्टाउँदै



काठमाडौं । विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको बेला कृषि उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न वाग्मती प्रदेशमा सामूहिक खेती अघि बढाइएको छ ।

वाग्मती प्रदेशका पाँच स्थानमा करिब साढे १७ सय बिघामा सामूहिक चक्लाबन्दी खेती गरिएको छ । यसले किसानलाई कृषि उत्पादन वृद्धिमा आकर्षित गरेको छ भने खेती पनि फस्टाउँदै गएको छ । सात सय ८९ कृषक घरधुरीले १७ सय ४४ बिघामा खेती गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मतीका सचिव मतिना वैद्य जोशीले बताइन् । ‘सामूहिक खेती फस्टाउँदै गएको छ,’ सचिव वैद्यले भने, ‘उत्पादन वृद्धि गर्न टेवा पुगेको छ ।’

परम्परागत निर्वाहमुखी खेती प्रणालीले कृषि उत्पादन वृद्धि हुन नसकेका बेला सामूहिक खेती सुरु गरिएको हो । खेतीयोग्य भूमिको खण्डीकरण, घडेरीकरण, बाँझो भइरहेको अवस्थामा जमिनको उपयोग गरी उत्पादन वृद्धिमा सघाउ पुगेको छ ।

जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन् । स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ । कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक खेतीलाई प्रोत्साहन गरेको मन्त्रालयले जनाएको छ ।

सामूहिक खेती गर्दा कृषि उपकरण किन्न ७० प्रतिशतसम्म अनुदान दिएको छ । सामूहिक खेती अवधारणा अघि बढाएपछि बाँझो रहेको जमिन समेत उपयोगमा आउन आएको छ । सामूहिक चक्लाबन्दी गरी आधुनिक एवं यान्त्रिकीकरणको माध्यमबाट अन्नबाली, तरकारी बाली, माछापालन, फलफूल खेती गरेर उत्पादन गरेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्