Logo
Logo

आजदेखि कांग्रेसको वडा अधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरू भएको हो ।

कांग्रेसले आज करिब ४० जिल्लामा वडा अधिवेशन गर्दैछ । सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ । सबैभन्दा बढी मत पाउने उम्मेदवार निर्वाचित हुनेछन् ।

आज वडा अधिवेशनबाट वडा सभापतिसहित पदाधिकारी र सदस्यहरू तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन् । यसैपालि क्रियाशील सदस्य बनेकाहरू पनि वडाका सबै पदमा उम्मेदवार हुन पाउँछन् ।

केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने उल्लेख छ । तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण भने पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छैन ।

५६ जिल्लामा भने क्रियाशीलको नामावली पार्टी वेबसाइटबाट सार्वजनिक गरिसकिएको छ । क्रियाशील नाम सार्वजनिक भएका र निर्वाचन अधिकृत पुगिसकेका जिल्लामा पनि भदौ १९, २०, २१ गतेका लागि अधिवेशन तोकिएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज वडा अधिवेशन नहुने भएको छ । ललितपुरमा र भक्तपुरमा भदौ २१ मा वडा अधिवेशन हुनेछ भने काठमाडौंमा कहिले गर्ने टुंगिएको छैन । क्रियाशील सदस्यता विवाद नटुंगिएकोले काठमाडौं अधिवेशन अनिश्चित छ ।

देशका छ हजार सात सय ४३ वडामा गरी कांग्रेसमा कूल ९ लाख क्रियाशील सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्