Logo
Logo

महाकालीको तुइन घटना हामीलाई थाहा छैन: भारत



काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा एक जना नेपाली बेपत्ता भएको घटनाबारे भारतले औपचारिक जानकारी नभएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा मिडियामा रिपोर्टहरू पढे पनि यसबारेमा सरकारलाई कुनै औपचारिक जानकारी नभएको बताए ।

बाग्चीले भने, ‘नेपालले छानबिन समिति बनाएको मिडियाबाट थाहा पाएको हो, त्यो उनीहरूको आन्तरिक छानबिन समिति हो। हामीलाई यसबारेमा केही जानकारी छैन ।’

गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका-२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। भारतको एसएसबीले तुइनको लठ्ठा काटेकाले धामी नदीमा खसेको स्थानीयले बताएका थिए ।

सरकारले साउन १७ गते गठित १० दिनको म्याद दिएर छानबिन समिति बनाएको थियो । पटक—पटक म्याद थपिएको उक्त समितिले मंगलबार गृह मन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा एसएसबीकै उपस्थितिमा घटना भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्