Logo
Logo

झ्याप्री खोला तटबन्ध निर्माणमा अनियमितता, वस्तीमा बाढी


हिक्मत बम


धनगढी । मोहन्याल गाउँपालिकाको वडा नम्बर २ कोल्तडीस्थित झ्याप्री खोलामा हालै निर्माण गरिएको तटबन्ध प्रभावकारी हुन नसक्दा कोल्तडीबासी प्रताडित बनेका छन् ।

भू-संरक्षण कार्यालय पाटन बैतडीको आर्थिक तथा प्राविधिक सहयोगमा झ्याप्री खोलामा तटबन्ध निर्माणका लागि ४० लाख रुपैयाँ निकासा गरिएको थियो । तर, तटबन्ध प्रभावकारी नभएपछि बाढी वस्तीतिर पस्न थालेको छ ।

उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त तटबन्धमा कुल ४ सय ८ जालीमात्र प्रयोग भएको बताइएको छ । दुई स्थानमा २० मिटरको दुरीमा निर्माण गरिएको तटबन्ध बाढीले बग्न थालेपछि कुनै अर्थ नरहेको स्थानीय रमेश सापकोटाले बताए । सापकोटाले भने, ‘नदी एक ठाउँमा बग्छ, तार जाली अर्को ठाउँमा हालिएको छ ।’

प्राविधिक ज्ञानविना तटबन्ध निर्माण गरिएपछि खोलाको बाढी नियन्त्रण हुनुको सट्टा कोल्तडी बजारतर्फ सोझिएको स्थानीय रबिलाल देवकोटाले बताए । उनले भने, ‘बजेटलाई सही ठाउँमा सदुपयोग गर्न नसकेका कारण खोलाको बाढी नियन्त्रण भएको छैन ।’
उपभोक्ता समिति गठन गर्दासमेत वडा–२ का अध्यक्ष देवीदत्त उपाध्यायले सिमित गुटका मानिसलाई र माओवादी कार्यकर्तालाई मात्र समेटेर राजनीतिक पूर्वाग्रह देखाएका थिए ।

स्थानीयले तटबन्ध निर्माण कार्यमा गाउँलेलाई जानकारी नगराइ वडा अध्यक्ष देवीदत्त उपाध्यायले सुखड बौनियाँमा बसेर किर्ते तरिकाले उपभोक्ता समिति बनाइ आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् । तटबन्ध निर्मार्ण हुनु पूर्व कोल्तडी बजारमा बाढी पसेको थिएन । उनीहरुले अवैज्ञानिक तरिकाले खोलाको बाढी नै बजार पस्नेगरी तटबन्ध बनाएकाले बजार क्षेत्र जोखिममा परेको बताए ।

तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष यम गिरिले २०७७ चैत्रबाट निर्माण थालिएको उक्त तटबन्ध ०७८ जेष्ठमा आएर सम्पन्न गरिएको बताए । उक्त तटबन्ध निर्माणमा ४०८ जाली प्रयोग भएको बताइएको छ ।

सो तटबन्ध निर्माणमा १४ लाखभन्दा बढी लगानी नभएको भन्दै उपभोक्ता समितिका अध्यक्ष गिरिले यर्थात विवरण पेश गर्न सक्नुपर्ने माग स्थानीय जनताको रहेको छ । जिल्लाको दुर्गम मोहन्याल २ कोल्तडीस्थित झ्याप्री खोलाले हरेक बर्ष कटान गर्दै जाँदा हालसम्म एक सय बिगाहभन्दा बढी जमिन खहरेमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्