Logo
Logo

तुइनपछि हेलिकोप्टर, प्रतिक्रियाविहीन सरकार



काठमाडौं । भारतले दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर हेलिकोप्टर उडाएको विषयमा सर्वत्र आलोचना भएको छ ।

यसबारेमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न गृह मन्त्रालय र नेपाली सेनाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तर, तुइन प्रकरणमै कूटनीतिक नोट पठाउन अलमलिएको सरकारले हेलिकोप्टर प्रकरणलाई कसरी लिने हो ? स्पष्ट भइसकेको छैन ।

गुरु गोरख गुल्म हेडक्वार्टरमाथि भारतीय हेलिकोप्टर पटक–पटक उडाइएकामा नेपाली सेनाले गम्भीर सरोकार राखेको छ । यस विषयमा सेनाका उच्च अधिकारीहरूले शुक्रबार जंगीअड्डामा छलफल गर्दै रक्षा मन्त्रालयमार्फत परराष्ट्रलाई जानकारी गराउने निष्कर्ष निकालेका छन् ।

‘हेलिकोप्टर अनधिकृत रूपमा सीमावारि आएको मात्र होइन, पटक–पटक ब्यारेकमाथि उडेको विषयमा ब्यारेकले हेडक्वार्टरलाई जानकारी गराएको थियो,’ छलफलमा सहभागी एक सैनिक अधिकारीले कान्तिपुरसँग भने, ‘यो गम्भीर विषय हो, यस्ता गतिविधि रोक्ने विषयमा आधिकारिक संयन्त्रमार्फत आवश्यक पहल गरिनेछ ।’ सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।

गृह मन्त्रालयले पनि भारतसँग जवाफ माग्न परराष्ट्र मन्त्रालयलाई शुक्रबार नै पत्र पठाएको छ । गृहसचिव टेकनारायण पाण्डेले परराष्ट्रलाई पत्र पठाउनुअघि गृहमन्त्री बालकृष्ण खाँण र सम्बन्धित सुरक्षा अधिकारीसँग छलफल गरेका थिए ।

भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेको विषयमा भारत सरकारसँग असन्तुष्टि जनाउन र त्यस विषयमा संलग्नलाई कारबाही गराउने कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको गृहका एक अधिकारीले बताए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्