Logo
Logo

पाँच वर्षमा पाँच कूटनीतिक नोट, भारतले जवाफै दिएन



काठमाडौं । भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा नेपाली युवा महाकालीमा खसेर बेपत्ता भएको घटनाबारे भारतले औपचारिक जानकारी नपाएको प्रतिक्रिया दिएको छ, यता नेपाल सरकार भने औपचारिक जानकारी दिनसमेत हिचकिचाएको छ ।

तुइन प्रकरणमा पठाएको पत्र अलपत्र परेका बेला गृहले हेलिकोप्टर प्रकरणमा परराष्ट्रलाई अर्को पत्र पठाएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीतिक नोट पठाउने सम्बन्धमा बिहीबार परराष्ट्र सचिव भरतराज पौड्याललाई बोलाएर छलफल गरेका थिए, तर शुक्रबार बेलुकासम्म प्रगति भएको छैन । यस विषयमा औपचारिक प्रतिक्रिया दिन परराष्ट्रका कुनै पनि अधिकारी तयार भएनन् ।

पूर्वराजदूत प्रह्लादप्रसाद प्रसाईं भने यस्तो गम्भीर घटनामा सरकारले सकेसम्म छिटो कूटनीतिक पहल गर्दा नै समस्या समाधान सहज हुने बताउँछन् ।

‘जतिसक्दो चाँडो कूटनीतिक पहल गरेको भए घटनाका बारेमा थप बुझ्नका लागि सहयोग हुन्थ्यो र दुई मुलुकबीचमा असमझदारी हट्थ्यो,’ उनले कान्तिपुरसँग भने, ‘भारतलाई तत्कालै खबर गरेको भए दुवै मुलुकका लागि फाइदा हुने थियो ।’ उता, भारतले यो घटनाबारे लिएर हालसम्म नेपालका तर्फबाट कुनै पनि जानकारी नआएको स्पष्ट पारेको छ ।

नयाँदिल्लीमा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मिडियाबाट समाचार सुनेकाले आफूले कुनै प्रतिक्रिया नदिने बताए । पूर्वराजदूत नीरञ्जन थापा भारतका विदेश मन्त्रालयको प्रवक्ताको भनाइले नेपाललाई कूटनीतिक प्रहार गरेको मान्छन् । ‘उहाँलाई थाहा नभएको होइन । नेपालको परराष्ट्र मन्त्रालयले लिपिबद्ध रूपमा भारतलाई पत्र दिन किन सकेन भन्ने उहाँको भनाइ हो,’ उनले भने । भारतीय विदेश मन्त्रालयको जवाफ हेर्दा भारतको हात माथि परेको मान्छन् थापा ।

‘किनकि हामीले उनीहरूलाई औपचारिक रूपमा पत्राचार नै गर्न सकेका छैनौं,’ उनले भने, ‘त्यसैले थाहा छैन भनिदिए । यो हाम्रो लागि ठूलो प्रहार हो ।’ उनी नेपालले कूटनीतिक रूपमा सही कदम चाल्न नसकेको टिप्पणी गर्छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्