Logo
Logo

स्वीकृतिविना नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडेकोप्रति जनमोर्चाको आपत्ति



काठमाडौं । स्वीकृतिबिना नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेश गरेकोप्रति राष्ट्रिय जनमोर्चा नेपालले आपत्ति जनाएको छ । केही दिनयता लगातार दार्चुला जिल्लाको सदरमुकाम खलंगास्थित नेपाली सेनाको गुरु गुल्म हेडक्वार्टर, लेकम, मालिकार्जुन, महाकाली, दुहुँ र व्यास गाउँपालिका क्षेत्रको आकाशमा पटक–पटक भारतीय हेलिकोप्टर उडेको समाचार सार्वजनिक भएपछि जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको हो ।

जनमोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वीकृतिबिना नेपालको आकाशमाथि भारतीय हेलिकोप्टर उडाउने कार्य गरेर भारतले अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन गर्नुका साथै नेपालको राष्ट्रियता तथा सार्वभौमिकता र अखण्डतामाथि चुनौती दिएको छ । भारतको उक्त हस्तक्षेपकारी कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । त्यस प्रकारका हर्कत नगर्न नेपाल सरकारले भारतीय पक्षसँग दृढतापूर्वक कूटनीतिक पहल गर्नुपर्ने कुरामा जोड दिन्छौँ ।’

यस्तै, महाकालीको तुइन घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाली दिएका कारण जयसिंह धामीको मृत्यु भएको ठहर गर्दा समेत दोषीलाई कारबाही गर्न नेपाल सरकारले भारतीय पक्षसँग पहल नगरेको भन्दै जनमोर्चाले आपत्ति जनाएको छ ।

पार्टीका महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा मृतक धामीको परिवारलाई आवश्यक क्षतिपूर्ति दिन समेत सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्