Logo
Logo

जुम्लाका ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा !



जुम्ला । नेकपा (एकीकृत समाजवादी) पार्टी जुम्लाले एमालेबाट ७० प्रतिशत जनप्रतिनिधि आफ्नो पार्टीमा समाहित भएको दाबी गरेको छ ।

एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रतिनिधि र एक जना मनोनित सदस्यबाहेक सबै समाजवादीमा समाहित भएको दाबी एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनमार्फत गरेको हो । सबै संगठनहरु पनि समाजवादीमा रहेको दाबी छ ।

एमालेतिर हाल मेनका पछाई, लाल भट्टराईमात्रै रहेको र मनोनित सदस्य धिर बोहोरालाई पार्टीले यसअघि नै निष्काशन गरिसकेको बताइएको छ । यी बाहेक युवा संघ नेपाल,अखिल नेपाल महिला संघ,अखिल नेपाल किसान महासंघ,प्रध्यापक संघ,शिक्षक संगठन,निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादीतिरै रहेको दाबी एकीकृत समाजवादीको दाबी छ ।

एमालेका जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा,उपाध्यक्ष नन्दराम रोकाया,सचिव आदिप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो एमाले जिल्ला कमिटी समाजवादीमा समाहित भएको घोषणा गरेका छन् ।

सचिव न्यौपानेले जुम्ला प्रदेश क्षेत्र (ख)का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको दाबी गरे । उनले, ‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जितेका सबै जनप्रतिनिधिले समाजवादीमा सखनात गरिसकेका छन् । केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा रहेकाले २२ भदौसम्म गर्ने तयारीमा छन् ।

‘सूर्य चिन्हको अवधि सकियो’

जुम्ला प्रदेश क्षेत्र (ख)का सांसद पदमबहादुर रोकायालगायत ७० प्रतिशत समाजवादीमा लागेको जनप्रतिनिधिले जुम्लामा सूर्य चिन्हको अवधि सकिएको टिप्पणी गरे ।

केन्द्रदेखि जिल्लासम्म केपी ओली गुटमा ‘बा’ प्रवृत्ति हावी भएका कारण सूर्य चिन्हको समय अवधि सकिएको रोकायाको तर्क छ । केपी ुबाुले गरेका गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेकोले विकल्पको रुपमा समाजवादी पार्टीको खुल्ला किताब चिन्ह उदाएको सचिव न्यौपानेको भनाई छ । जुम्लामा एकीकृत समाजवादीले फड्को मार्ने उनको दाबी छ ।

‘जुम्लामा ओली एमाले शून्यमा झर्छ’

प्रदेश सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एक वडा पनि नजित्ने दाबी गरे । पहिलेको एमालेको वर्चश्व भएको वडामा समाजवादीले जित्ने उनको दाबी छ । उनले कर्णालीका १० जिल्लामा ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कब्जा गर्ने ठोकुवा गरे ।

सचिव न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै बाहुल्यता रहेको दाबी गरे । आगामी चुनावमा माओवादी संग तालमेल गरेर भए पनि चुनाव जित्ने उनको भनाइ छ । केपी ओली संघीयता विरोधी र गणतन्त्र विरोधी भएकोले एमाले कुनै पनि हालतमा फस्टाउन नसक्ने समाजवादीका नेताको तर्क छ ।

‘हामी नयाँ तरिकाले अघि बढौं । चिन्ह प्रमुख होइन । केही प्रभावशाली नेताका कारण सूर्य चिन्ह ब्राण्ड बनेको थियो । अब केपी बाले सूर्य चिन्हको अस्तित्व संकटमा परिरहेको छ’ उनले भने, ‘पहिले एमाले बनाउने पनि हामी नै हो । अहिले समाजवादी पनि हामीले नै बनाउँछौं ।

नेकपा एकीकृत सामाजवादी जिल्ला कार्यसमिति जुम्लाले २३ भदौमा आमसभा गर्ने पनि जनाएको छ ।-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्