सभामुख प्रचण्डको निर्देशन मान्ने कार्यकर्ता भए : ईश्वर पोखरेल « Drishti News – Nepalese News Portal
Logo

सभामुख प्रचण्डको निर्देशन मान्ने कार्यकर्ता भए : ईश्वर पोखरेल


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सभामुख अग्नी सापकोटा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता भएको आरोप लगाएका छन् ।

शनिवार काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सभामुख सापकोटाले सभामुख पदको गरिमा धान्न नसकेको र प्रचण्डको कार्यकर्ताको जस्तो व्यवहार गरेको आरोप लगाएका हुन् ।

‘सभामुखको गतिविधि हेर्नुस् त्यो संवैधानिक ओहोदा हो। तर, अहिले प्रचण्डको निर्देशन पालना गर्ने कार्यकर्ता जस्तो बनेका छन्’, उनले भने, ‘आउँदो संसद् कसरी चलाउँछन् त्यसको हिसाबकिताब त्यहीँ गर्छौं।’

कार्यक्रमको अधिकांश समय सभामुखप्रति आक्रोश पोखेका महासचिव पोखरेलले २३ भदौबाट सुरु हुने संसद अधिवेशन चलाएर देखाउन चुनौती समेत दिए ।

एमालेले कारबाही गरेका १४ जना सांसदहरुको कारबाही सम्बन्धी सूचना टाँस नगरेको विषयलाई लक्षित गर्दै सभामुखप्रति पोखरेल आक्रोशित बनेका हुन्।

‘तत्कालीन माओवादीबाट आएका साथीहरुलाई कारबाही गरेको पत्र प्रचण्डले काट्दा २४ घण्टा नबित्दै कार्यान्वयन गर्ने,’ उनले भने, ‘तर नेकपा एमालेले कारबाही गरेको पत्र दिँदा पनि त्यसलाई धन्काएर राख्नेरु प्रचण्डको गुरिल्ला बनेका छन् सभामुख।’

प्रतिक्रिया दिनुहोस्