Logo
Logo

बगिरहेको छ हेलम्बुको पहाड, बस्तीतर्फ धार सोझ्याउँदै कोशी र कमला



काठमाडौं । हेलम्बु, भदौ १९ गते । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरु ।

शनिबार भने दिनभर सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो । त्यसैले मेलम्ची खोलाका दायाँबायाँ किनारा चियाउन सकियो जहाँबाट बाढी र पहिरालो छियाछिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो । माथिबाट चियाउँदा लाग्थ्यो खोला किनारबाट सयौँ मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ । अहिले पनि अर्थात् बिना वर्षा नै पनि ठाउँठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ । जङ्गलबीचका सेतो कमेरे माटोका धर्साहरु त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन् । यसरी हेर्दा लाग्छ अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड । अनि प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा ।

कतिपय स्थानमा चोइटिएका पहाडबाट सुक्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुङ्गा माटोका ढिक्का थिए । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगर छेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो । हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन ।

“थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुवासी जोखिममै दिन काट्न बाध्य छन्”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भन्नुभयो । यसो बाहिरबाट हेर्दा नै मक्किएझैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रुप देखाउन सक्ने जोखिम अझै छ । त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन ।

माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिए पनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अवस्थामा फर्काउने प्रयास पनि भइरहेका थिए । मेलम्ची नगरपालिका–११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो । एक्जाभेटर लगाएपछि अहिले घरको भुइँतला फेला पार्नुभएको छ । मजदुर लगाएर घर खोतल्दै गरेकी उहाँलाई पनि अझै मेलम्ची आउने डर हटेको छैन ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्