Logo
Logo

चिनियाँ सीमाबारे दुई प्रतिवेदन गोप्य, फेरि समिति



काठमाडौं । गृह मन्त्रालयले हुम्लाको नाम्खामा चीनतर्फ सीमासम्बन्धी अध्ययन गर्न सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति बनाएको छ । तर, यसअघि यही विषय अध्ययन गर्न बनाइएका दुई समितिको प्रतिवेदन गोप्य राखिएको छ ।

२०७२ मा केपी शर्मा ओलीको सरकारले नाम्खाको सीमा अध्ययन गर्न परराष्ट्रका तत्कालीन सहसचिव झवीन्द्र अर्यालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले नाम्खामा चीनबाट सीमा नमिचिएको रिपोर्ट दिएको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ छ । अर्यालको रिपोर्ट अझै सार्वजनिक भएको छैन ।

पछिल्लो पटक २०७७ असोजमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गृह मन्त्रालयले जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुख र नापीका अधिकारी सम्मिलित टोलीलाई नाम्खाको निरीक्षणमा खटाएको थियो । निरीक्षणपछि प्रजिअ गिरीको समितिले तयार पारेको प्रतिवेदन गृहमा बुझायो, गृहले परराष्ट्रमा पठाएको प्रतिवेदन पनि गोप्य छ ।

त्यस्तै, २०७६ मंसिरमा मन्त्रिपरिषद्ले भारत–चीन सीमा जोड्ने नेपालतर्फको भूभाग निरीक्षण गर्न स्थायी संयन्त्र बनाउने निर्णय गरेको थियो । चारवटै सुरक्षा निकायसहित गृह र रक्षा मन्त्रालय तथा नापी विभागका अधिकारी सम्मिलित टोली रहने गरी भारततर्फ परराष्ट्रका दक्षिण एसिया महाशाखा र चीनतर्फ उत्तर एसिया महाशाखा प्रमुखको संयोजकत्वमा सीमा अनुगमन तथा निरीक्षण गर्ने निर्णय भयो ।

त्यसपछि परराष्ट्रका तत्कालीन दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालको टोली भारततर्फ खटियो । चीनतर्फ उत्तर एसिया महाशाखा प्रमुख कालीप्रसाद पराजुलीको टोली खटिने भनिए पनि प्रतिकूल मौसमका कारण उत्तरी सीमा क्षेत्रको स्थलगत निरीक्षणमा जान नपाएको ज्ञवाली बताउँछन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्