Logo
Logo

बिपीका स्वास्थ्यकर्मी काम छाडेर कविता वाचन गर्दै, उपचार सेवा ठप्प



धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा नर्सलगायतका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । सरकारले सहमति पालना नगरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएपछि आइतबारबाट ओपीडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प भएको छ ।

धरानमा दैनिक सरदर ३ हजार विरामीले ओपीडी सेवा लिने गरेका छन् भने २० भन्दा बढी शल्यक्रिया हुँदै आएको छ । यसअघि सात दिनभित्र सहमति कार्यान्वयन नगरे स्वास्थ्य उपचार सेवामा सहभागी नहुने आन्दोलनकारीले अल्टिमेटम दिएका थिए ।

आन्दोलनकारीले आकस्मिक र कोभिडबाहेकका सेवामा सहभागी नहुने घोषणा गरिसकेका छन् । अहिले उनीहरु एकै ठाउँ भेला भएर कविता वाचन गरिरहेका छन् । सूचना अभावले आउने बिरामीलाई आन्दोलन स्थलमै सेवा दिने सयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रतिष्ठान शुद्धिकरणको आन्दोलन ५० दिन पुग्दा साउन १९ को मध्यरातमा आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो ।
विवादमा परेका सबै पदाधिकारी हटाउने प्रक्रिया सुरु गर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने, अख्तियारमा रहेका मुद्दाहरुको छिटो किनारा लगाउने, पदाधिकारी नियुक्तिका लागि यसअघि बनेका विभिन्न समिति र आयोगले निर्धारण गरेका मापदण्ड लागु गरेर नयाँ मापदण्ड तय गर्ने लगायतका सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्