Logo
Logo

कृषि ज्ञान केन्द्र प्रमुखविहीन



लमजुङ । कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो ।

प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारीसमेत मर्कामा पर्दै आएका छन् । प्रमुख पठाउन सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि हालसम्म कहिले आउने अन्योल नै रहेको केन्द्रका कृषि प्रचार अधिकृत बुद्धिबहादुर बानियाँले बताए ।

यस कार्यालयमा रहेका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीसमेत तालिमका लागि भन्दै यही भदौ ८ गतेदेखि काठमाडौँ गएका छन् ।

उनले आफू दुई महिना लामो तालिममा सहभागी भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी दिए । कार्यालय प्रमुखसहित विभिन्न पदका कर्मचारी नहुँदा विभिन्न सेवाबाट बञ्चित हुँदा किसान निराश बन्न थालेका छन् । कृषि क्षेत्रमा सरकारले विशेष प्राथमिकताका साथ हेर्दै समस्याका समाधान गर्नुपर्ने यहाँका किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्