रोकिएन मानव बेचबिखन « Drishti News – Nepalese News Portal
Logo

रोकिएन मानव बेचबिखन


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ महामारीका कारण लामो समय बन्दाबन्दीको अवस्था रहँदा धेरै विषय ठप्प जस्तै बने तर मानव बेचबिखनको जालो भने यो समयमा पनि विश्वभर मौलाइरह्यो । बन्दाबन्दीमा मानव बेचबिखनका धेरै मुद्दा दर्ता भएन तर पूरै रोक भने लाग्न नसकेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमख दुर्गा सिंह आँैल्याउनुहुन्छ ।

यस वर्ष २२४ वटा मात्र घटना दर्ता हुनु कम सङ्ख्या हो । तथापि बन्दाबन्दीमा बेचबिखनको जालो सक्रिय रहनु गम्भीर विषय भएको उहाँ बताउनुहुन्छ ।

ब्युरोकै दर्ता खाता हेर्ने हो भने गत साल बन्दाबन्दीकै समयमा नुवाकोटका मधु श्रेष्ठले सविता नाम परिवर्तनलाई बिहे गर्ने बहानामा दुबईमा बेचेका थिए । नेपालमा ललाइफकाई गरेर वैदेशिक रोजगारका नाममा दुबई पठाए ।

त्यहाँबाट फर्केपछि विवाह गर्ने भन्दै विदेश जान लाग्ने खर्च भनेर एक लाख ३० हजारसमेत लिए । काम गर्न भनी पु¥याइएपछि अरबी घर मालिकले तलाई मैले १५ सय दिराममा किनेको हो भनेर जबरजस्ती करणी गर्न खोजेपछि सविता झसङ्ग हुनुभयो ।

इन्कार गर्दा गर्दै तलबसम्म नदिने, शारीरिक र मानसिक यातनालगायतका अनेक दुःख दिन थालेपछि उहाँ भागेर गैरआवसीय नेपाली सङ्घको शरणमा पुग्नुभयो । सहयोगीको सहयोगमा अरबीलाई १५ सय दिराम र मुद्दा दायर गरेको अर्को १४ सय दिरामसमेत तिरेर उहाँ यसै वर्ष असार ९ गते स्वदेश फर्कन सफल हुनुभयो ।

नेपालमा माइती नेपालको संरक्षणमा रहँदै पीडक मधु श्रेष्ठविरुद्ध मुद्दा हाल्नुभयो । प्रहरीले उहाँको उजुरीका आधारमा पीडकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । यी जस्तै रोजगारको बहानामा बेचिने पुरुषभन्दा महिला बढी रहेको ब्युरोको त्रिवर्षीय तथ्याङ्कले देखाउँछ ।

जसअनुसार आर्थिक वर्ष २०७५/०७६ मा बेचिने पुरुषको सङ्ख्या ७१ हुँदा महिलाको सङ्ख्या ३१६ जना रहेका छन् । त्यस्तै २०७६७७ मा पुरुष १४ र महिला ११९ जना बेचिएको घटना दर्ता भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पुरुष चार र महिला १८३ जना बेचबिखनमा परेको मुद्दा छ । मुद्दा दर्ताको हकमा तीन वर्ष नै भने महिलाले भन्दा बढी पुरुषले दर्ता गराएको पाइएको छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्