Logo
Logo

एमसीसीको घोर विरोध गर्न आह्वान



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट जनवर्गीय संगठनहरुले एमसीसी सम्झौताको घोर विरोध गर्न आह्वान गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै देशी विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुबाट हुन सक्ने षड्यन्त्रप्रति सजग हुन सबैलाई आग्रह गरेको हो ।

उनीहरुले सरकारले एमसीसी सम्झौता पारित गर्ने उद्देश्यले संसद अधिवेशन आह्वान गरेको र एमसीसी आयोजनाका उपाध्यक्ष फतेमा सुमारको हुने भनिएको नेपाल भ्रमणले आफूहरुलाई थप सशंकित बनाएको उल्लेख गरेका छन् ।

‘देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड महामारीबाट जनताहरु प्रताडित भएको अवस्था तथा देशभर बाढी, पहिरो लगायतका प्रकोपबाट जनधनको क्षति भइरहेको यस विषय परिस्थितिमा देशी विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुबाट हुन सक्ने षड्यन्त्रप्रति सजग हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ ।

एमसीसी संसदभित्र छलफल र अनुमोदन गर्ने नै नभएको संगठनहरुले बताएको छ । ‘यो सम्झौता अनुसार नेपाल सरकार र एमसीसी कम्पनीको संयुक्त लगानीमा परियोजना संचालन हुने भएको हुँदा यो विषय संसदभित्र छलफल र अनुमोदन गर्ने विषय नै होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई संसदबाट अनुमोदन गरिनुपर्ने विषय अगाडि सारेर नेपालको संविधान र सार्वभौम संसदभन्दा माथि अमेरिकी कानुन र यसका प्रावधान लागू हुने व्यवस्था किमार्थ स्वीकार्य हुँदैन ।’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसी आयोजना नेपालको हितमा नभएको र यसका प्रावधानहरुले नेपाल राष्ट्र र नेपाली जनताको सार्वभौम अधिकार र सम्प्रभुतामाथि प्रहार गरेको निष्कर्ष निकालेको विषय पनि अहिले झन् सान्दर्भिक रहेको उनीहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्