Logo
Logo

सुदूरपश्चिममा एमालेलाई ठूलो झट्का, एकीकृत समाजवादी रोज्नेको लर्को (सूचीसहित)


हिक्मत बम


धनगढी । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ । यसअघि नै १३ जना प्रदेश सांसदले नेकपा एमाले परित्याग गर्दै नवगठित एकीकृत समाजवादी रोजेका थिए भने सोमबार थप एक जनाले सनाखत गरेका हुन् । सोमबार प्रदेश सांसद माया तामाङ (बोहरा)ले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।

उनी बझाङकी समानुपातिक सांसद हुन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएकी उनले पार्टी विभाजनसँगै आज औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेकी हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकी, तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहने संकेत गरेका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ । विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए । उनीहरुले नेकपा एमालेमै रहने बताएका छन् । सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने जनाएको छ । यो सँगै, सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका १३, नेकपा (एस) का १४, नेकपा एमाले ११, नेपाली काँग्रेस १२ र जसपाका २ सांसद हुनेछन् ।

कैलाली र कञ्चनपुरमा ३२–३२
नेकपा एमाले विभाजनपछि बनेको नेकपा, एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधिहरु आउने क्रम जारी छ । दल रोज्न दिइएको समय सकिन एक दिन मात्र बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि जनप्रतिनिधिले अन्तिम निर्णय लिन थालेका छन् ।

सोमबार दिउँसोसम्म कैलाली र कञ्चनपुरका ६४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी दल रोज्दै निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवनबहादुर थापासहितका ३२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सोमबार दिउँसोसम्म जिल्ला समन्वय समितिकी उपप्रमुख सुन्दरीदेवी चौधरीसहितका ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । जसमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर पनि छिन् ।

विभिन्न स्थानीय तहका पाँच जना वडाध्यक्षले पनि एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन कार्यालयकाअनुसार धनगढी उपमहागरपालिका–१४ का वडाध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका–५ का वडाध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका–५ का वडाध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम आचार्य र मोहन्याल गाउँपालिका–४ का वडाध्यक्ष टेकेन्द्र बोगटी रहेका छन् ।

सनाखत गर्न बाँकी २४ जना भने वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । मंगलबार साँझसम्म दल रोज्ने जनप्रतिनिधिलाई सनाखत गर्ने समय भएकाले अझै आफ्नो पार्टीमा लाग्नेको संख्या वृद्धि हुने दावी एकीकृत समाजवादी पार्टीले गरेको छ । कैलालीका ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचित भएका थिए भने एउटा स्थानीय तहमा प्रमुख मात्र छन् ।

यस्तै कञ्चनपुरमा मेयरसहित ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । सनाखत गर्ने वडाध्यक्षको संख्या ६ पुगेको छ । बेल्डाँडी गाउँपालिका–१ का वडाध्यक्ष अमर खत्री, पुनर्वास नगरपालिका–१ का प्रताप चन्द, ३ का वडाध्यक्ष कृष्ण तामाङ, कष्णपुर नगरपालिका–३ का वडाध्यक्ष सुन्दर चौधरी र भीमदत्त नगरपालिका–६का वडाध्यक्ष हर्कबहादुर धामी र १८ का वडाध्यक्ष राजेन्द्र पाण्डेले सनाखत गरेका हुन् ।

यी बाहेकका अन्य वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । कञ्चनपुरका ९ स्थानीय तहमध्ये ४ वटामा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले जितेको छ ।

गृहनगरकै मेयर र उपमेयरले पत्याएनन् रावललाई
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढथापाले आइतबार नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् ।

मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम् प्रदेश कमिटी सदस्यसमेत थिए । नेकपा (एस)मा सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । उनले कुनै नेतालाई भन्दा पनि विचारलाई रोजेको प्रतिक्रिया दिए ।

यस्तै, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्र सदस्यसमेत रहेको कार्यपालिका सदस्य जितबहादुर निशानी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जयन्ती बोगटी, चौरपार्टी गाउँपालिका–४ पायलका अध्यक्ष हर्क लोहारले पनि नेकपा (एस) रोजेका छन् ।

यस्तै, चौरपार्टी गाउँकार्यपालिका सदस्य सपना कुमाल, वडा सदस्य भरत खड्का, सुरत कुँवर, बिस्नुदत्त जोशी, भाना लुहार पनि नेकपा (एस)मा खुलेका छन् । यस्तै, जिल्लाको मेल्लेख गाउँपालिका– ६ नन्देगडाका वडा सदस्य कल्धरादेबी बिकले नेकपा एमाले परित्याग गर्दै नेकपा (एस) मा सनाखत गरेकी छन् ।

डोटी
डोटी जिल्लाका तीन जना एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । संघीय सांसद तथा तत्काली नेकपा एमालेका जिल्ला इन्चार्ज प्रेम आलेको गृहजिल्लामा विगतमा ओली पक्षमा रहेकाहरुले नेकपा एस रोजेका हुन् ।

दल रोज्न पाउने समय सकिनु एक दिनअघि पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपमेयर शिवराज खड्का र सायल गाउँपायिलका–३ का अध्यक्ष गोरखवहादुर सार्कीले नेकपा एसको पक्षमा सनाखत गरेका छन् । आलेका अनुसार मंगलबारसम्म अरु स्थानीय तहका जनप्रतिनिधिले पनि नेकपा एसको पक्षमा सनाखत गर्नेछन् । डोटीका ५ स्थानीय तहमा एमालेले जितेको थियो ।

आलेले एमाले छाडेसँगै नेकपा एसको पक्षमा जिल्लाका नेता कार्यकर्ता र जनप्रतिनिधि खुल्ने क्रम बढेको छ । आलेले प्रदेशसभामा समेत नेकपा एसको पक्षमा चार जना सांसद जुटाएका छन् ।

बझाङ
बझाङमा नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न थालेका छन् । आइतबार बझाङको केदारस्युँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, चारजना वडाध्यक्षसहित एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधिले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका हुन् । एमालेबाट निर्वाचित वडा नं १ का अध्यक्ष लोकेश भण्डारीबाहेक सबैले जिल्ला निर्वाचन कार्यालय चैनपुर पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

सनाखत गर्नेमा केदारस्युँ गाउँपालिका अध्यक्ष ईन्द्र भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नं २ का वडाध्यक्ष चक्र विक, वडा नं ३ का वडाध्यक्ष वीरबहादुर खाती, वडा नं ५ का वडाध्यक्ष काशीराम धामी, वडा नं ८ का वडाध्यक्ष गणेश बोहरालगायत २० भन्दा बढी जनप्रतिनिधिहरू छन् । उनीहरूले आइतबार निर्वाचन कार्यालय चैनपुरमा सनाखत गरेको वडाध्यक्ष गणेश बोहराले बताए ।

जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरू भने अझै सम्म खुलिसकेका छैनन् । यसअघि माधव नेपाल पक्षमा देखिएकाहरू पनि अहिले खुलिसकेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष दिलबहादुर सिंह पनि समाजवादीमा खुलेरै लागेका छन् ।

नेकपा समाजवादीमा सनाखत गरेका केदारस्युँ गाउँपालिकाका अध्यक्ष ईन्द्र भण्डारीले भोलिसम्म थप जनप्रतिनिधिले सनाखत गर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दे भण्डारीले अन्य स्थानीय तहका जनप्रतिनिधिसँग आफ्नो कुरा भएको र धेरैले भोलि सनाखतका लागि आउने जानकारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्