Logo
Logo

उपहारको बग्गी प्रदर्शनीमा



काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिनुभएको सुवर्ण बग्गी सोमबारबाट सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।

नारायणहिटी दरबार सङग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरूले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताउँदै भन्नुभयो, “तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको बग्गीबारेमा धेरैलाई चासो थियो । नेपाली सेनासँग मागेर ल्याएका छौँ । अब यो प्रदर्शनीमा रहिरहनेछ ।”

बेलायतकी महारानी एलिजाबेथ द्वितीया पहिलो पटक २०१६ साल फागुनमा नेपाल भ्रमण आउनुभएका बखत उपहारका रूपमा यो बग्गी प्रदान गर्नुभएको थियो । यस्तो बग्गी संसारमा दुईवटा मात्र रहेको दाबी गरिएको छ । एउटा बग्गी अझै पनि बेलायती महारानीले प्रयोग गर्दै आउनुभएको छ र सो बकिङघम दरबारमा छ ।

त्यो बग्गीमा बत्ती जडान भएकाले राति पनि प्रयोग गर्न सकिन्छ तर उपहार प्राप्त बग्गीमा बत्तीको व्यवस्था छैन । बग्गी निर्माता कम्पनी अफोर्ड एन्ड सन्स लिमिटेड लन्डन भनी बग्गीको पछिल्तिर लेखिएको छ । सो कम्पनी सन १७९१ मा स्थापना भएको हो र यसले बेलायती दरबारका लागि विभिन्नखाले बग्गी तयार गरेको थियो ।

नारायणहिटी दरबारका पूर्वसचिव शम्भुुप्रसाद अधिकारीले बेलायती महारानीको पहिलो नेपाल भ्रमणका बखत उपहार पाएको बताउँदै भन्नुभयो, “बग्गी पानी जहाज हुँदै ल्याइएको थियो । राजा महेन्द्रका पालामा यसको प्रयोग भएन ।

राजा वीरेन्द्रको शुभराज्याभिषेकका बेलामात्र पहिलो पटक प्रयोगमा ल्याइएको थियो । ” वीरेन्द्रको राज्याभिषेक २०३१ साल फागुन १२ गते सम्पन्न भएको थियो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्