Logo
Logo

बाजुरामा ५ जना जनप्रतिनिधीले रोजे एकीकृत समाजवादी


नन्दा थापा


बाजुरा । जिल्लामा ५ जना जनप्रतिनिधीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । स्वामिकात्र्तिक खापर गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहीत ५ जनाले जिल्ला निर्वाचन कार्यालयमै पुगेर समाजवादीको पक्षमा लाग्ने गरि सनाखत गरेका हुन् ।

स्वामिकात्र्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही, उपाध्यक्ष, मिमा बुढा, बुढीनन्दा नगरपालिकाका ९ का वडा अध्यक्ष खडक बोहरा, बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा र दलित महिला वडा सदस्य बुदी सेरालाले समाजवादी पार्टीमा सनाखत गरेका छन् । समाजवादीका नेताहरु नरेश शाही, पुरबहादुर शाही सहीत निर्वाचन कार्यालय पुगेर जनप्रतिनिधीले सनाखत गरेका हुन् ।

कार्यालयमा उपस्थिति भएरै ५ जना जनप्रतिनिधीले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी राजेश भट्टाराईले बताएका छन् । भदौ २२ गते बेलुका ५ बजेसम्म समय भएकोले थपिन सक्ने भएपनि आजसम्म ५ जनाले मात्र सनाखत गरेको अधिकारी भट्टराइले बताए ।

थपिने नथपिने कुरा आफुलाई सरोकारको विषय नभएकोले कार्यालयमा तोकिएको समय भित्र आउने जनप्रतिनिधीलाई सनाखत गराउने गरि तयारीमा कार्यालय रहेको भट्टाराईले बताए । निर्वाचित जनप्रतिनिधीले अनिवार्य कार्यालयमै उपस्थित हुनु पर्ने प्रावधान रहेको छ ।

एकीकृत समाजवादीका नेताहरुले केही जनप्रतिनिधि थपिने दाबी गरेपनि सनाखत भने गरेका छैनन् । बुढीनन्दा नगरपालिका ९ का ३ जना वडा सदस्य थपिने बताएपनि कार्यालयमा आएर सनाखत नगरेकोले त्यसलाई आधिकारी भन्न मिल्दैन् । बाजुरामा सनाखत गर्नेको संख्या थपिने संभावना न्यून रहेको छ ।

बाजुरामा नेकपा एमालेले ३२ वटा वडा जितेपछि २ जना वडा अध्यक्षले मात्र समाजवादी रोजेका छन् । तीन वटा गाउँपालिका र एक वटा नगरपालिकाका उपप्रमुख जितेका मध्ये स्वामिकात्र्तिक खापर गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले मात्र समाजवादी राजेका हुन् ।

स्वामिकार्तिक खापर गाउँपालिकाका ५ वटा वडा मध्ये ३ वटा एमालेले जितेको थियो । अध्यक्ष उपाध्यक्षले एमाले त्यागेर समाजवादी रोजेपछि तीन वटै वडाका जनप्रतिनिधीले नेकपा एमालेमै रहने बताएका छन् । परिवारीक राजनीतिको प्रभावले अध्यक्षले सनाखत गरेको बिश्लेषण गर्न थालिएको छ ।

समाजवादी रोजेका गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही, पूर्व सांसद तथा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य हिक्मत शाहीका सहोदर भाइ हुन् । त्यही प्रभावले पार्टी राजेको नेकपा एमाले नेताहरुको दाबी छ ।

बाजुरामा २ वटा प्रदेश निर्वाचन क्षेत्रका निर्वाचित सांसद बल्देव रेग्मी र प्रकाश शाह, संघिय सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा नेकपा एमालेमै छन् । भने नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा पनि नेकपा एमालेमा नै छन् ।

पुराना नेकपा एमाले बाजुराका संस्थापक नेताहरु मध्ये हिक्मत शाही मात्र नेकपा एकीकृत समाजवादीमा खुलेका हुन् । अन्य सिंगो जिल्लाको टिम, तत्कालिन नेकपा एमाले जिल्ला कमिटी एमालेमै उभिएको छ । ५८ जनाको जिल्ला कमिटीमा ३ जना मात्र समाजवादीमा लागेको बुझीएको छ ।

नेकपा हुँदाको दुई धारमा देखिएकै नेताहरु प्रकाश शाह, बल्देव रेग्मी एमालेमै लागेका छन् । भने पार्टी जिल्ला अध्यक्ष बनाइएका एमाले उपसचिव गगन रावल पनि एमालेमै रहने श्रोतको दाबी छ । समाजवादीमा न्यून संख्यामा मात्र लाग्ने संभावना रहेको छ ।

बाजुरामा जसपाबाट विभाजित लोसपाले कुनै स्थानीय तहमा जितेको छैन् । भने नेकपा माओवादी केन्द्रले ६९ मध्ये ३ वटा वडा मात्र जितेको थियो । नेकपा एमालेले ३२ र नेपाली काँग्रेसले ३४ वटा वडा जितेका थिए । ती मध्ये नेपाली काँग्रेसले ६ वटा स्थानीय तहका प्रमुख र ५ वटा स्थानीय तहका उपप्रमुख उपाध्यक्ष जितेको थियो ।

एमाले बाजुराको समानान्तर कमिटी समाजवादीमा रुपान्तरण
नेकपा एमाले बाजुराको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको घोषणा गरिएको छ । नेकपा एकीकृत समाजवादीले मार्तडीमा आयोजना गरेको विस्तारित बैठकबाट गगन रावलको नेतृत्वमा रहेको समानान्तर कमिटी समाजवादी पार्टीको जिल्ला कमिटीमा रुपान्तरण भएको छ ।

अध्यक्ष गगन रावल, सचिव पुरबहादुर रावत र सहसचिव नीरबहादुर शाही सहीतको कमिटी समाजवादीमा रुपमान्तरण भएको हो । १ सय ४१ सदस्यीय जिल्ला कमिटी गठन गरिएकोमा अधिकांश समानन्तर कमिटीका सदस्यहरुको सहभागिता रहेको थिएन् ।

जिल्ला नेतृत्व सहीत तीनै जना पदाधिकारी र जिल्ला कमिटीका अधिकांश सदस्यहरुको उपस्थितिमा जिल्ला कमिटी घोषणा गरिएको हो । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग शाही, समाजवादीका नेता नरेश कुमार शाही सहीतको उपस्थितिमा बसेको बैठकले जिल्ला कमिटी घोषणा गरेको हो ।

तत्कालिन अवस्थामा सामानान्तर कमिटी बनाउँदा नेकपा एमाले केन्द्रीय सदस्य प्रकाश बहादुर शाह सहीतका नेताहरु पनि उपस्थिति रहेका थिए । भने जिल्ला कमिटीमा नाम राखिएका मध्ये केहीले आफूहरुको मञ्जुरी विना नै राखेको आरोप लगाएका थिए । सिंगो पदाधिकारीको टिम समानान्तर टिम समाजवादीमा रुपान्तरित भएपनि सदस्यहरु भने अधिकांश एमालेमै रहेको बुझीएको छ ।

तर समाजवादी पार्टीले भने आफ्नो सिंगो टिम नै समाजवादीमा लागेको दाबी गरेको छ । अध्यक्ष गगन रावलले यस अघि गठन गरेको समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपमान्तरण भएको घोषणा गर्नु भएको थियो । रावल निकै ढिलो समयमा आएर समाजवादीमा खुलेका हुन् ।

गगन रावलको अध्यक्षतामा सूरु भएको प्रथम विस्तारित बैठकमा केन्द्रिय सदस्य हिक्मतजंग शाही प्रमुख अतिथि रहेका छन् । जिल्ला कमिटी सचिव पुरबहादुर रावतले संचालन गरेको बैठकमा नेकपा एकिकृत समाजवादीका नेता नरेश शाही, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मिमा बुढा लगायत नेता तथा कार्यकर्ताहरु सहभागि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्