Logo
Logo

प्रहरी अस्पतालमा भ्रष्टाचारको महामारी



काठमाडौं । प्रहरी अस्पतालमा एमआरआई मेसिन बिग्रिएको करिब डेढ वर्ष भइसकेको छ । एमआरआई गराउनुपर्ने प्रहरी कर्मचारी र उनका आफन्तहरु महगो शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउन बाध्य छन् । तर, अस्पताल प्रमुख एआइजी आशा सिंहले यसको कुनै चिन्ता छैन । उनको चिन्ता कमिसनमा मात्र भएको प्रहरी कर्मचारी बताउँछन् ।

कमिसनकै लागि हालै नेपाल प्रहरी अस्पतालले लेजर मेसिन खरिद गरेकोबाट पनि त्यो प्रष्ट हुन्छ । एमआरआई मर्मतमा चासो नदिएर एआइजी सिंहले लेजर मेसिन खरिद गरेको र त्यो पनि स्टोरमा थन्काएर राखेको अस्पताल स्रोत बताउँछ । अस्पताललाई आवश्यक नभएपनि कमिसनमै लोभमा करिब सवा करोड रुपैयाँमा सो मेसिन खरिद भएको हो ।

अहिले कोरोना महामारीको समय भएकाले सरकारले अस्पताललाई प्रशस्त बजेट दिएको छ । जुन बजेट अनावश्यक सामान खरिद गरेर सिध्याउने खेल भइरहेको छ । एमआरआई मेसिन मर्मत नगराएर नयाँ एमआरआई मेसिन खरिद गराउन समेत अस्पतालमा एक समूह सक्रिय छ ।

त्यसो महामारीको समयमा भ्याक्सिन लुकाउँदा करिब चार सय डोज भ्याक्सिन समेत खेर गएको अस्पताल स्रोत बताउँछ । आफु निकट व्यक्तिहरुलाई लगाउन अस्पतालले भ्याक्सिन लुकाएको थियो । अहिले कतै दर्ता नै नभएको औषधी भिटामिन सी भन्दै अस्पतालले खरिद गरेर बिरामीहरुलाई वितरण गरिएको विषयमा समेत ठूलो विवाद भइरहेको स्रोत बताउँछ ।

अस्पतालभित्र बिलिङमै समेत अनियमितता हुने गरेको छ । बिलिङको पैसा रिफन्ड गरिएको देखाएर ठूलो रकम हिनामिना हुँदै आएको छ । सोही कारण बिलिङ शाखामा लामो समयदेखि अमृता न्यौपाने र संगिता कार्कीलाई मात्र जिम्मेवारी दिइएको छ । यसमा कम्प्युटर शाखाका हाकिम कपिल भट्टराईको समेत मिलेमतो रहेको स्रोत बताउँछ ।

लेखा शाखामा बदमासी त्यस्तै छ । विगतमा समेत भ्रष्टाचारमा मुृिछएका सइ दीपक थापा र लेखापाल हिराबहादुर केसी मिलेर खरिदमा सेटिङ मिलाउने गरेका छन् । अस्पतालमा कुनै पनि सामान किन्दा कम्तीमा १० प्रतिशत कमिसन उनीहरुले लिने गरेका छन् । कतिसम्म भने गत वर्ष अस्पताल परिसरका रुख काटिएकोमा त्यो बिक्रि गर्दा समेत अनियमितता भएको स्रोत बताउँछ । खासगरी एआइजी सिंहले अस्पतालको नेतृत्व सम्हालेयता यस्तो अनियमितता बढेको छ । तर, यसमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समेत गुमराहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्