Logo
Logo

मादी हत्या प्रकरण : घटनास्थलमा १५ तोला सुन र तीन लाख भेटियो



खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर-१ उम्लिङमा भएको कार्की परिवारकाे हत्या भएको घटनास्थलमा १५ तोला सुन र तीन लाख रुपैँया फेला परेको छ ।

आइतबार राति तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नातीको हत्या भएको थियो । उनीहरुको शव फरकफरक स्थान (बारी, खोला र सडकको भित्ता) मा फेला पारिएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा मंगलबार घटनास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदी ले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको कमाण्डमा रहेको विशेष टिम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा १५ तोला सुन सहित ३ लाख रुपैँया रकम फेला परेको डिएसपी सुवेदीले बताए ।

आइतबार राति उक्त घटना भए पनि सोमबार बिहान प्रहरीमा जानकारी आएको थियो । घटनास्थल जिल्ला सदरमुकाम चैनपुरबाट ५५ किलोमिटर पूर्वमा पर्छ । एकै परिवारका छ जनाको हत्या हुँदा ९५ वर्षका बौद्धमान कार्की भने सकुशल भेटिएका छन् ।

घटनास्थलको प्रकृति मुचुल्का उठाई अहिले शवको परीक्षकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

उक्त क्षेत्रको नाकामा उच्च सुरक्षा निगरानीका साथ घटनाको अनुसन्धान जारी रहेको छ । प्रहरीले कुकुरसमेत प्रयोग गरी घटनाको अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्