Logo
Logo
टिप्पणी

ईश्वरले ताके ओलीकै कुर्सी



काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले ‘बजार खपत’ का लागि एक हप्ताभित्रै तीन–चार किसिमका तुरुप फ्याँकेका छन् । हिन्दी कहावतमा भनेझैँ ‘नाम हो, बद्नाम हो, गुमनाम न हो’बाट प्रेरित ईश्वर पोखरेलका अभिव्यक्ति सुनेर एमाले नेताहरु नै छक्क परेका छन् ।

उनले शुरुमा आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरे । केही दिनपछि एमाले ०७५ जेठ २ मा फर्किने नभएर नेकपा एकताकै निरन्तरताका रुपमा अगाडि बढ्ने बताए । अनि, आइतबार मोरङ पुगेर ‘पार्टी एकताका निम्ति तयार पारिएको १० बुँदे सहमति जस्ताको तस्तै लागु हुँदैन’ भनेर प्वाक्क बोले ।

एक हप्ताभित्रै उनले दिएका तीनथरि अभिव्यक्ति सुनेपछि एमालेका एक पूर्वमन्त्रीले दृष्टिलाई भने, ‘उहाँलाई आफ्नै मनोदशाले न रुन अनुमति दिएको छ, न हाँसेरै हिँड्न सक्ने बनाएको छ ।’ उनको भनाइ छ, ‘आफ्नो मन बुझाउन बोलेका ती कुरा पनि बोल्न नदिने हो भने राँची लानुपर्छ, त्योभन्दा यतै बर्बराउन दिनु राम्रो ।’ उनका अनुसार, ईश्वर पोखरेलले बोलेका कुरा पार्टीको विचार नभएर व्यक्तिगत धारणा हुन् । एमालेमा व्यक्तिगत विचार राख्ने स्वतन्त्रता ‘जबज’ले दिएको छ ।

भनिन्छ, ‘धोवीले गधालाई जति पिटे पनि गधाका लागि धोवी नै प्यारो । किनभने, अरुले त गधालाई पिट्नु त के छुन र सुम्सुम्याउन पनि चाहँदैनन् ।’ एमालेका लागि ईश्वर र ईश्वरका लागि एमाले त्यही धोवी र गधाको सम्बन्धझैँ मानिन्छन् । ०७४ मा उपप्रधानसहित अर्थमन्त्री माग्दा ‘ई खा’ भनेर रक्षामा थन्क्याइयो । अरु भए छाडेर हिँड्थे । तर, उनको चाहिँ मन्त्री छाडेर जाने ठाउँ भएन, खान कर लाग्यो ।

केही समयपछि रक्षाबाट विनाविभागीय बनाएर प्रधानमन्त्री कार्यालयमा उपसचिव बस्ने कुर्सीमा पुर्याइयो । त्यो पनि सहनै पर्यो । ०७५ जेठ ३ को पार्टी एकताले हुँदाखाँदाको महासचिव पद खाइदियो । आफ्नै कमिटीका उपमहासचिव विष्णु पौडेललाई महासचिव मानेर बस्नैपर्यो । पार्टी छाडेर जाने कुरा भएन ।

अहिले केपी ओलीले पार्टीको विधान संशोधन गरेर महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने व्यवस्था गरेका छन् । उक्त व्यवस्थाअनुसार, पार्टीका पदाधिकारी र स्थायी कमिटी सदस्य चुन्ने अधिकार अध्यक्षमा हुने छ । बुझिने कुरा के हो भने ओली आफू बिनाप्रतिस्पर्धा अध्यक्षमा निर्वाचित हुने र आफ्नो दासत्व स्वीकार्नेलाई पदाधिकारी र स्थायी कमिटी लैजाने योजना हो ।

यो कुरा बुझेर ईश्वर पोखरेलले अध्यक्षमै उम्मेदवारी दिने घोषणा गरिदिए । यसले एमाले फेरि फुट्ने संकेत गरेको छ । नवौं महाधिवेशनमा ओलीले ईश्वर पोखरेललाई अध्यक्ष बनाउने बचन दिएका थिए । हुनुपर्ने त्यही हो । तर, ओली आफैँ अध्यक्ष बन्ने भएपछि ईश्वरले ओलीलाई चुनौती दिएका छन् ।

ओलीले अबको एक कार्यकाल पार्टी अध्यक्ष बन्ने र दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री बन्ने र त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने घोषणा ईश्वर पोखरेल भएकै बैठकमा गरेका हुन् । त्यसका निम्ति ‘विरोधीरहित पार्टी’ ओलीको मूलसूत्र हो । त्यसविपरितको कुरा गर्दा आफ्नो अध्यक्षलाई रिस उठ्छ भन्ने कुरा पनि ख्याल नगरी ईश्वरले ओलीकै कुर्ची ताकेका छन् । बालकोटस्रोत अनुसार ईश्वरको यो अभिव्यक्ति सुनेपछि ओली ‘बा’ले निकटस्थहरुका बीच संक्षिप्त प्रतिक्रिया दिए, ‘ए, अध्यक्ष नै पो…।’

थाहा छैन, अब ओलीले ईश्वर पोखरेललाई कसरी ‘ठेगान’ लगाउँछन् । किनभने, आफ्नो कुर्सी ताकिएकै कारण साढे तीन वर्षमा ओलीले सब कुरा भत्काउन तयार भए । देशमा दुईतिहाई नजिकको दलीय हैसियत, पाँच वर्षसम्म पार्टीले बिनाअवरोध चलाउने सरकार, शक्तिशाली प्रधानमन्त्री पद, सातमध्ये ६ प्रदेशमा एकल बहुमतको सरकार, स्थानीय तहमा सुविधाजनक बहुमत, भएभरका संवैधानिक, राजनीतिक नियुक्ति, राजदूतदेखि प्रदेशसम्मका विभिन्न अवसर– यी सब कुरा प्रचण्डले ‘प्रधानमन्त्री ताकेको’ कारण भताभुङ भएका छन् । अर्थात्, ओलीका निम्ति ती सबै क्षति स्वीकार्य भए, आफ्नो पद जाने कुरा स्वीकार्य भएन ।

फलतः पार्टीसमेत विभाजित भएको छ । ती सारा घटनाक्रमलाई उनले ‘दुई–चार वटा पात झरेको’ भनेर चित्त बुझाइरहेका छन् । अनि, उनै ओलीको अध्यक्षको कुर्सीमा आँखा लगाउने ईश्वर पोखरेलको अब के हालत होला ? हेर्न बाँकी छ । अर्कातिर, ईश्वर पोखरेलको घोषणाले उनैलाई खाइदिन्छ । जस्तो कि, उनले एमाले जेठ २ मा फर्किने नभएर विगतको नेकपा एकताकै निरन्तरता हो भनेका छन् । यदि त्यो कुरा सत्य हो भने नेकपाको महासचिव पनि उनी हैनन्, विष्णु पौडेल हुन् ।

ईश्वर पोखरेलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे पनि उनले आफ्नो महासचिव पद सुरक्षित राख्नका निम्ति अध्यक्षको घुर्की सुनाएका हुन् । ओलीले आगामी महाधिवेशनबाट आफू अध्यक्ष भएपछि शंकर पोखरेललाई महासचिव र विष्णु पौडेललाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् । त्यो कुरा बुझेपछि आफ्नो ‘पोजिसन’ सुरक्षित पार्न अहिले नै अध्यक्ष घोषणा गर्ने र पछि सम्झौताका क्रममा सकेसम्म महासचिव सुरक्षित राख्ने, नभए पनि उपाध्यक्षमा सुरक्षित बस्ने उनको चाहना हो भन्ने बालकोटको बुझाई छ ।

तर, ओलीलाई ईश्वर पोखरेलको घोषणा र चाहनामा वास्ता छैन । एमालेस्रोतका अनुसार, पार्टीका बैठकमा के–के एजेण्डा पेश गर्ने ? बैठक कसरी चलाउने भन्ने कुरा पनि महासचिवको हैसियतले ईश्वरको जानकारीमा हुँदैन । सबै कुरा विष्णु पौडेलले तयार पारेर ल्याउँछन्, त्यो पढ्ने काम ईश्वरले गर्ने हो । यही घटनाक्रमका आधारमा पनि भन्न सकिन्छ, ओलीको अन्तिम शिकार अब ईश्वर हुन् ।

माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गर्ने क्रममा उनको साथ छोडेका ९ जना स्थायी कमिटी सदस्य अहिले ईश्वर पोखरेलका निम्ति सबभन्दा भारी भएका छन् । उनीहरु एमालेमै रहिरहे आफ्नो पोजिसन समाप्त हुने भयमा उनी छन् । एमालेस्रोत भन्छ, ‘बरु, केपी ओली ती ९ जनाले आफूले भनेको मान्छन् भने पार्टीमै बसुन भन्नुहुन्छ, ईश्वरचाहिँ जसरी पनि उनीहरुलाई लखेट्नैपर्छ भन्नेमा हुनुहुन्छ ।’

२०७१ असार १९–२५ मा सम्पन्न एमालेको नवौं महाधिवेशनमा ईश्वर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेको भन्दा १५ मत बढी ल्याएर महासचिवमा जितेका थिए । उनै सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा ईश्वर पोखरेलको भन्दा बढी मत पाएका थिए । महासचिवमा ईश्वर पोखरेलले १ हजार ४५ र सुरेन्द्र पाण्डेले १ हजार ३० मत पाएका थिए । तर, केन्द्रीय सदस्यमा सुरेन्द्र पाण्डेको मत १ हजार ९६ थियो । ईश्वर पोखरेलचाहिँ खुला तर्फ केन्द्रीय सदस्यमा दिएको उम्मेदवारीमा पराजित भएका थिए ।

अहिले माधव नेपालको पार्टी विभाजनमा सरिक नभई ओलीतिर गएका ९ स्थायी कमिटी सदस्यमध्ये सुरेन्द्र पाण्डे पनि एक हुन् । तीबाहेक उपाध्यक्षमा सबभन्दा बढी मत ल्याउने भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्यसहितका नेता ९ जनाभित्रैका हुन् । ओलीसँग भएकै शंकर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवालीहरुको घेराबाट उक्सिने उपाय खोजिरहेका ईश्वर पोखरेलका निम्ति माधव नेपाललाई छाडेर गएका ९ जनाको घेराबन्दी झनै सकसपूर्ण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्