Logo
Logo

जलहरी घोटालामा अख्तियारको छानबिन सुरु



काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ । महालेखा परीक्षकको ५८औं प्रतिवेदनले पनि पशुपति क्षेत्रमा अनियमितता भएको जनाई दोषीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

पशुपतिको शिवलिंगमा सुनको जलहरी लगाउँदा अनियमितता भएको उजुरीमा आधारित भएर अख्तियारले कोषका पदाधिकारीसँग बयान लिन सुरु गरेको छ । शवदाह मेसिन खरिद तथा गुह्येश्वरी मन्दिरभित्रको मूर्ति मर्मतमा पनि अनियमितता भएको उजुरी अख्तियारमा परेको छ । महालेखाको प्रतिवेदनमा गुह्येश्वरी मन्दिरमा मूर्ति मर्मतमा प्रयोग गरिएको सुनमध्ये १ सय ७४ दशमलब ५ तोलाको अवस्था अपारदर्शी देखिएको उल्लेख छ ।

स्रोतका अनुसार अख्तियारले कोषका सदस्यसचिव मिलनकुमार थापा र पूर्वसदस्यसचिव प्रदीप ढकालसँग बयान लिन सुरु गरेको छ । थापा यसअघि कोषको कोषाध्यक्ष थिए । सरकारले केही दिनअघि मात्रै थापालाई सदस्यसचिवमा नियुक्त गरेको हो। यसअघिका सदस्यसचिव ढकालको साउन मसान्तमा पदावधि सकिएपछि थापालाई नियुक्त गरिएको हो । अख्तियार स्रोतका अनुसार कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग पनि बयान लिइएको छ । कोषको निर्णय प्रक्रियामा ढकाल, थापा र खतिवडाको भूमिका हुन्छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भएको अनियमितताबारे अनुसन्धान प्रक्रिया अघि बढेको बताए । कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १ सय ८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन् । तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ । बाँकी सुन गायब बनाइएको उजुरी अख्तियारमा परेको छ ।

गत फागुन ११ गते साँझ ५ बजे पशुपतिको शिवलिंगमा जलहरी लगाउने काम सकिएको जनाइयो । त्यसै दिन राति ८ बजे मुचुल्का तयार गरियो । मुचुल्कामा जलहरीमा ९७ केजी मात्र सुन खपत भएको र बाँकी ११ केजी सुनको रिङ बनाइएको जनाइयो । शिवलिंगमा जलहरी लगाउने काम पूरा भएको भनिएको ३ घण्टामै ११ केजी सुनको रिङ कसरी तयार गरियो भन्ने प्रश्न उठेको छ ।

यही प्रश्नमा केन्द्रित रहेर अख्तियारले अनुसन्धान अघि बढाएको छ । ३ घण्टामै ११ केजी सुनको रिङ बन्यो भन्ने दाबी पत्याउन सकिने आधार नभएको अख्तियारका अधिकारीहरूको भनाइ छ ।

गत फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरीको उद्घाटन गरेकी थिइन् । त्यस अवसरमा १ सय ८ केजी सुनको जलहरी लगाइएको घोषणा गरिएको थियो । उद्घाटन कार्यक्रम पनि एकाएक तय गरिएको थियो । फागुन ११ गते साँझ एकाएक उद्घाटन कार्यक्रम तय गर्न कोषका केही व्यक्तिले गुपचुप काम गरेका थिए ।

कोषले पशुपतिको शिवलिंगमा सुनको जलहरी लगाउनुअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक अर्ब रुपैयाँ बराबरको जलहरी शिवलिंगमा लगाइने घोषणा गरेका थिए । प्रधानमन्त्रीको भाषणपछि शिवलिंंगमा सुनको जलहरी लगाउने निर्णय कोषका पदाधिकारीले गरेका थिए  ।

यो समाचार आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्