Logo
Logo
दार्चुला दुइन प्रकण

एसएसबीको संलग्नता किटान गर्दै भारतलाई पत्र



काठमाडौं । सरकारले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीमा खसाउने घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को संलग्नता रहेको किटान गरेको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन उद्धरण गर्दै सरकारले एसएसबीको ‘उपस्थिति र संलग्नतामा’ तुइन घटना भएको जानकारी भारतलाई दिएको छ ।

समाचारमा भनिएको छ– ‘गृहको छानबिन समितिले नै एसएसबीको ‘संलग्नता’बारे प्रस्ट लेखे पनि गृहको विज्ञप्तिमा भने ‘उपस्थिति’ मात्र भनिएकाले प्रतिवेदनमाथि आशंका उठेको थियो । तर, परराष्ट्रले शुक्रबार नेपालस्थित भारतीय दूतावासमार्फत पठाएका दुवै कूटनीतिक नोट कान्तिपुरले प्राप्त गरेको छ ।’

कान्तिपुरले प्रकाशित गरेको नोटमा भनिएको छ– ‘काठमाडौंस्थित भारतीय दूतावासलाई यो जानकारी गराउँदछ कि दार्चुलाको व्यास गाउँपालिका–२ निवासी नेपाली नागरिक जयसिंह धामी २०२१ जुलाई ३० मा तुइनमार्फत नेपालको मालघाटबाट भारततर्फ महाकाली नदी पार गर्ने क्रममा खसेका हुन् ।’
नोटमा थप भनिएको छ– ‘उक्त घटनाबारे अनुसन्धान गर्न नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित समितिले प्रत्यक्षदर्शीको भनाइ, परिस्थिति र तथ्यहरूका आधारमा उनी बेपत्ता भएको विषयमा बुझाएको प्रतिवेदनमा उक्त घटना सशस्त्र सीमा बल (एसएसबी) को उपस्थिति र संलग्नता (प्रेजेन्स एन्ड इन्भल्भमेन्ट)मा भएको परराष्ट्र मन्त्रालय जानकारी गराउँदछ ।’

छानबिन समितिले नै एसएसबीको संलग्नता प्रस्ट पार्दै भारततर्फबाट समेत अनुसन्धान गरी कारबाही र क्षतिपूर्तिको पहल गर्न सिफारिस गरेको थियो । नोटमा भनिएको छ, ‘यस घटनामा एसएसबीको संलग्नताबारे विस्तृत अनुसन्धान गरी घटनामा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न तथा पीडितको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन परराष्ट्र मन्त्रालय आग्रह गर्दछ ।’

साउन १५ मा व्यास गाउँपालिका–२ माल (खाङदाङ) का ३३ वर्षीय धामी महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइनको लट्ठा खुस्काइदिएपछि नदीमा खसेर हराएका थिए । लगत्तै परिवारले घटनाको अनुसन्धान गर्न तुइन टाँगिएको भारततर्फको गस्कु नजिकै पाङला प्रहरी चौकीमा जाहेरी दियो ।

प्रतिक्रिया दिनुहोस्