Logo
Logo

लुम्बिनीमा ७४ जनप्रतिनिधि एकीकृत समाजवादीमा



रुपन्देही । लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्यसहित ७४ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त संख्यामा जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ ले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

विसं २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा नेकपा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी जम्मा एक हजार ५६७ जना निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले १५ भदौदेखि २२ गतेसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो । दाङ २१, बाँके– १२ , रुपन्देही– ७, रुकुम पूर्व– ४, रोल्पा– ५, बर्दिया–६, अर्घाखाँची–६, प्यूठान–८ ,पाल्पा–१, नवलपरासी (पश्चिम-२), कपिलवस्तुमा १ जना लुम्बिनीमा नेकपा एकीकृत समाजवादी रोज्ने स्थानीय तहका जनप्रतिनिधि रहेका छन् ।

गुल्मीमा कोही पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेशमा २० जनाले सनाखत गरेका छन् । जसमध्ये रुपन्देहीमा १९ र कपिलवस्तुमा एक गरी २० जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्