Logo
Logo

एमाले सांसदसँग सभामुख सापकोटा आक्रोशित



काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले नाराबाजी गर्दै बैठक अवरुद्ध गर्न खोजेपछि सभामुख अग्निप्रसाद सापकोटा आक्रोशित भएका छन् ।

एमालेले कारवाही गरेको १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै उनीहरुले सभामुख सापकोटा विरुद्ध प्रतिनिधिसभा बैठकमै नारावाजी गरेका छन् । एमाले सांसदहरुले नारावाजी गर्न थालेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै ति सांसद बिरुद्ध जंगिएका छन् ।

एमाले सांसदले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने जवाफ सभामुखले दिए । प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत हुने सभामुखले बताए ।

एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को शब्दमा बोल्दै आक्रोशित भएका थिए । सभामुखले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनी समेत दिए ।

‘माननीय सदस्यहरु देशमा संविधान छ, कानुन छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ सभामुख सापकोटाले भने, ‘फेरि पनि म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।’

सभामुखले भनेको नियमावलीको नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने विषय छ । प्रतिनिधिसभाको बैठक शुरु भएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारवाही गरेको सांसदको बिषयमा सूचना जारी किन नगरेको भन्दै प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्