
रूपन्देही । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दावी गरेका छन् ।
बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले विचार र सिद्धान्त नै नभएको पार्टीले चुनावमा एक सिट पनि नजित्ने बताएका हुन् ।
भेटघाटमा नेता पौडेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिए । आफ्नो दलले कारबाही गरेर निस्काशन गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको उनको आरोप छ ।
उनले दलको ह्वीप उल्लंघन गरेर पार्टीले कारबाही गरेका सांसदहरुलाई कुन संविधान, कानुन र नियमावलीको आधारमा संरक्षण दिएको? भनि सभामुख सापकोटालाई प्रश्नसमेत गरे ।
पूर्वअर्थमन्त्री समेत रहेका उनले भने, ‘नेकपा एमालेको संसदीय दलमा अनुशासन उल्लंघन गरेका, पार्टीको ह्वीप उल्लंघन गरेका सदस्यहरुलाई, आफ्नो दलका नेतालाई विश्वासको मत नदिएकाहरुलाई स्पष्टीकरण सोधेर कारबाही गरेको त्यो निर्णयलाई लागू नगर्ने अधिकार सभामुखलाई छैन।’










