Logo
Logo

एमसीसीका उपाध्यक्ष र नायब उपाध्यक्ष भाेलि नेपाल आउँदै



काठमाडाैं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदैछन् ।

एमसिसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आउन लागेका हुन्।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौतामा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो।

अघिल्लो सरकारले एमसिसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति दिनका साथै जग्गा अधिग्रहण र सिमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर तदनुरुप काम अघि बढाएको थियो।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३ सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्