Logo
Logo
कांग्रेस क्रियाशील सदस्यता विवाद

निधिले पठाए देउवालाई पत्र, कोइरालाले गराए ध्यानाकर्षण



काठमाडौं । नेपाली कांग्रेसभित्रको पार्टी क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन । विभिन्न जिल्लामा मनोमानी ढंगले केन्द्रबाटै सदस्यताको नाम पठाएको भन्दै विरोध भइरहेको छ भने नेतृत्वको आलोचना पनि जारी छ ।

यही विषयलाई लिएर १३ औं महाधिवेशनका सभापतिका उम्मेद्वार विमलेन्द्र निधिले डडेलधुरा जिल्ला अधिवेशनसम्बन्धी विवाद टुंग्याउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

निधिले तलबाट आएको नामावलीमा केही हटाएर माथिबाट थपेर सम्बन्धित जिल्लासँगको समन्वय विना अधिवेशन तोकिएकोमा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचन गर्न देउवालाई पत्र पठाएर माग गरेका छन् ।

डडेल्धुराबाट पठाइएका पाँच सय जना क्रियाशील सदस्यको नाम हटाएर केन्द्रबाटै सिधै करिब तीन सय जनाको नाम थपेर क्रियाशील सदस्यताको अन्तिम सूची पठाएको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले विरोध गरेपछि निधिले पनि देउवालाई यस विषयमा पत्र पठाएका हुन् ।

‘डडेलधुरा जिल्लाको क्रियाशील सदस्यहरुको नामावली बारे गम्भीर विवाद उत्पन्न भएको छ, सम्पूर्ण प्रकृया पुर्याएर तलबाट आएको नामावलीमा केही नाम हटाएर माथिबाट सोझै अर्को नामावली थप गरेको र जिल्ला कार्य समितिको सहयोग र समन्वयबिना नै निर्वाचन अधिकृतले भदौ २५ लाई अधिवेशनको मिति तोकिदिएको भनी जिल्ला सभापति कर्णबहादुर मल्लद्वारा जिल्ला कार्य समितिको निर्णय सहितको विज्ञप्ति पनि आएको छ, यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वदा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचनको कार्य सम्पन्न गर्न गराउन सम्बन्धित सरोकारवालाहरुलाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु,’ निधिले देउवालाई पठाएको पत्रमा भनिएको छ ।

डडेल्धुरा सभापति देउवाको गृहजिल्ला हो । अन्य नेता/कार्यकर्ताको क्रियाशील सदस्यताको नाम हटाएर सभापति देउवा पक्षले आफूखुसी क्रियाशीलको नाम थपेको आरोप सभापति मल्ललगायतको छ । मल्ललाई साथ दिँदै निधिले सदस्यताको विरोध मात्रै गरेनन् देउवाविरुद्ध उत्रिएको जनाउ पनि दिएका छन् ।

यही विषयलाई लिएर अर्का नेता एवं सभापतिका सम्भावित उम्मेद्वार कांग्रेस नेता शेखर कोइरालाले पनि डडेलधुराको वडादेखि जिल्लासम्म कुनै विवाद नभइ पठाएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाएर ३ सय १२ जनाको नाम थपिनु गलत भएको बताएका थिए ।

उनले क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट वडा अधिवेशन आह्वान हुनु दुःखद भएको समेत उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा शेखरले लेखेका छन्, ‘ यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाइँदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतबाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ’, कोइरालाले सामाजिक सञ्जालमा भनेका छन् ।’

कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकै दिन वडा अधिवेशन गर्ने भने पनि २१ जिल्लाका क्रियाशील सदस्यको नामावली अझै सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्