काठमाडौं । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । गएको २० दिन यताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ । साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ ।
सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको पाइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिए। उनका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत सङ्क्रमण हुने गरेको पाइएको भए पनि अहिले त्यसमा कमी आएको छ । उनका अनुसार अहिले पीसीआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएपछि अस्पतालमा भर्ना हुने बिरामी पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्पतालले जनाएका छन् ।
सङ्क्रमणको दोस्रो लहर आएसँगै साउनमा सङ्क्रमण बढेकामा अहिले आएर भने कमी देखिएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुपराज बाँस्तोलाले पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने विरामीको सङ्ख्यामा कमी आएको बताए । उनका अनुसार शुक्रराजमा सघन उपचार कक्षमा १३ जना, १५ जना एचडियु, तीन जना आकस्मिक कक्ष र तीन जना क्याविनमा रहेका छन् । शुक्रराजमा अक्सिजन चाहिने मात्र बिरामीलाई भर्ना गरिन्छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।











