Logo
Logo

नेपाल आइपुगिन् एमसीसी उपाध्यक्ष



काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चार दिने भ्रमणमा लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन् ।

उनीहरू बिहान कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन् । विमानस्थलबाट उनीहरू कमलपोखरीको मेरियट होटलमा गएका छन् ।

उपाध्यक्ष सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षा चुनौतीलाई मध्यनजर गरी सुमार र ब्रुक्सको सुरक्षामा सादा पोशाकका प्रहरी पनि खटाइएको छ ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्