Logo
Logo

यस्तो छ एमसीसी टोलीको भेटघाट तालिका



काठमाडौं । बिहीबार नेपाल आइपुगेका एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको टोली नक्सालस्थित मेरियट होटलमा बसेका छन् । एमसीसीको टोली काठमाडौं आइपुगेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच सम्झोता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

उपाध्यक्ष फतिमाको टोलीले बिहीबारबाटै भेटघाट शुरु गरेको छ । आजै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग भेट्न यो टोली बालकोट पुगेका छन् । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

यस्तै, शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगको भेट शक्रुबार ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्