Logo
Logo

प्रदेश २ का सभामुखले छोडे राजेन्द्रको साथ, रोजे उपेन्द्र



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वरिष्ठ नेता राजेन्द्र महतोनिकट मानिने प्रदेश २ का सभामुख सरोज यादवले संघीय समाजवादी पार्टी नेपाल (जसपा) रोजेका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएर लोसपा निर्माण भएको हो । लोसपा अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा महतो रहेका छन् । वरिष्ठ नेता महतो निकट मानिने धेरै नेताहरुले उनको साथ छोडेका छन् । पछिल्लो समयमा प्रदेश २ का सभामुख रहेका यादवले पनि महतोको साथ छोडेका हुन् ।

जसपा विभाजन भएर लोसपा दर्ता भएपछि निर्वाचन आयोगले २२ भदौसम्ममा दल रोज्न समय सिमा तोकेको थियो । तर सभामुख यादवले लोसपाको पक्षमा हस्ताक्षर नगरेपछि उनी जसपामै रहेको देखिन्छ ।

सभामुख भएपछि कुनै दलगत गतिविधि गर्न मिल्दैन । त्यही भएर पनि उनले लोसपाको पक्षमा सनाखत नगरेको बताइन्छ । तर निर्वाचन आयोगका सहायक प्रवक्ता एवं उपसचिव कोमलप्रसाद धमलाले प्रदेशसभा सदस्य भएकै कारण सभामुख चयन गरिएको हुनाले विभाजित दलका प्रदेशसभा सदस्यले नयाँ दलमा सामेल हुन चाहेमा सनाखत गर्नैपर्ने प्रस्ट पारे । नयाँ दलको पक्षमा सनाखत नगरेका प्रदेशसभा सदस्य स्वतः मूल पार्टीमै रहेको मानिने उनले बताए ।

सभामुख यादव लामो समयसम्म महतोसँगै रहेर तत्कालिन सद्भावना पार्टीमा सक्रिय थिए । सदभावना पार्टीसहित मधेसवादी ६ दलहरु मिलेर राजपा घोषणा भएको थियो । पछि राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेको थियो । लोसपाका वरिष्ठ नेता महतोकै कोटामा यादव सभामुख भएका थिए ।

यसअघि नै महतो पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसदसमेत रहेका समाजिक विकासमन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद मनिष सुमन, डा. रिना यादव, अञ्जु यादव, निरा साहले पनि महतोको साथ छाडिसकेका छन् । महतो समूहमा रहेका यि नेता जसपामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्