Logo
Logo

एमसीसी उपाध्यक्षलाई नेपालकाे जवाफ, ‘राष्ट्रहित विपरीत सम्झौता हुँदैन’



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनता र राष्ट्रको हितविपरित हुने कुनै पनि सम्झौतामा आफ्नो पार्टीको सहमति नहुने स्पष्ट पारेका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको टोलीसंग बिहीबार सिंहदरबारमा छलफल गर्दै अध्यक्ष नेपालले नेपाली जनता र राष्ट्रको हित भन्दा बाहिर गएर अघि बढ्न नसक्ने प्रष्ट पारेका हुन् ।

एमसीसी सम्झौता संसदबाट पारित गर्ने सरकारले तयारी गरेपछि यसको पक्ष र विपक्षमा चर्को बहस भईरहेका बेला चार दिने नेपाल भ्रमणमा आएको सुमारको टोलीले अध्यक्ष नेपालसंग छलफल गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

सुमारले एमसीसी नेपालको पक्षमा रहेको र यसलाई पारित गर्दा नेपालकै हित हुने प्रष्टीकरण दिएकी छन् । नेपालको हितमा रहेकाले पारित गर्दा नेपालकै विकास हुने नगर्दा अहितमा हुने सुमारको भनाई रहेको भेटघाटमा सहभागि एकीकृत समाजवादीका केन्द्रीय सदस्य गंगालाल तुलाधरले बताए ।

जवाफमा अध्यक्ष नेपालले नेपाली जनता र राष्ट्रको हितमा भए नभएको कुरा सुनिश्चिता खोजेको उनले बताए । एमसीसी सम्झौताको बारेमा नेपालमा मात्र नभई अमेरिकी अधिकारीबाट समेत भ्रम र आशंका उत्पन्न हुने अभिव्यक्ति आएको स्मरण अध्यक्ष नेपालले गराएको तुलाधरले बताए ।

‘हामी नेपाली जनता र राष्ट्रको हितविपरित हुने कुनै पनि सम्झौता गर्न सक्दैनौं भन्ने कुरा नै अध्यक्षज्यूले राख्नुभयो’ नेपालको भनाई उद्धृत गर्दै तुलाधरले भने, ‘अहिले जे भ्रम र आशंका उत्पन्न भएको छ त्यो हामीबाट मात्र नभई अमेरिकी अधिकारीबाटै भएको छ । ति आशंका तथा भ्रम आउने कुरा स्पष्ट गर्नु भनेर हामीले भन्यौं ।’

तत्कालीन नेकपामा एमसीसी कार्यदल गठन भएको र झलनाथ खनाल संयोजक रहेको कार्यदलले दिएका सुझाव पनि भेटघाटमा स्मरण गराइएको उनले बताए । आफूहरूको अहिले संयुक्त सरकार रहेका र सबै नेताहरूसँंग छलफल गरेर यसबारेमा स्पष्ट पार्न सुझाव दिएको तुलाधरले बताए ।

भेटघाटमा अध्यक्ष नेपाल सहित नेताहरू प्रमेश हमाल, तुलाधर, नेपालका स्वकीय सचिव मोहन गौतम तथा एमसीसी उपाध्यक्ष सुमार सहित सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्