Logo
Logo

सेनाको कमान्ड शर्माको काँधमा



काठमाडौं । नेपाली सेनाको कमान्ड बिहीबारदेखि प्रभुराम शर्माले सम्हालेका छन् । प्रधानसेनापतिका रूपमा तीन वर्षे कार्यकाल पूरा गरी पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाएसँगै शर्मा प्रधानसेनापति बनेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्दै प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति थापा अवकाश पाउनु एक महिना पहिलेदेखि बिदामा बसेका कारण शर्माले सरकारको निर्णयअनुसार कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसअघि उनले बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए। उनलाई भदौ ३ गते मन्त्रिपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

नवनियुक्त प्रधान सेनापतिलाई सैनिक परम्पराअनुसार जङ्गीअड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसलगत्तै उनले कार्यभार सम्हालेका थिए।

२०२० पुस ९ गते काठमाडौंको सीतापाइलामा जन्मिएका शर्मा २०४० सालमा सहायक सेनानीबाट सैनिक सेवामा प्रवेश गरेका हुन् । उनले संयुक्त राज्य अमेरिकाबाट सैनिक प्रहरी एड्भान्स तालिम, नेपाली सैनिक वार कलेज नगरकोटबाट गुल्मपति तथा स्टाफ तालिम, सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीबाट कमान्ड तथा स्टाफ तालिम र भारतबाट नेसनल डिफेन्स कोर्स पूरा गरेका छन् ।

उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमए र सन् २०१४ मा भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल उपाधि हासिल गरेका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्