Logo
Logo

३५ वर्षपछि रंगशालामा चेली



काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले डिफेन्डर सिर्जना सिंह छमछमी नाचेको फोटो फेसबुक पेजमा अपलोड गरे । सिर्जना हाफ–पाइन्ट, टिसर्ट र स्पोर्ट्स सुजमै सिन्धु मल्लको ‘चिटिक्कै भा छु रे’ गीतमा नाचेकी थिइन् ।

त्यसको भोलिपल्ट बिहीबार उनीसहित प्रीति राई, सविता राना र रश्मीकुमारी घिसिङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । उनीहरूले यस्तो मौका नेपाली महिला राष्ट्रिय टिमले दशरथ रंगशालामा पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा नै पाए । नेपाली महिलाले धुमधामसँग मनाउने हरितालिका तीजकै दिन बंगलादेशविरुद्ध भएको यो ऐतिहासिक खेल नेपालले २–१ ले जित्यो ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालनका लागि मापदण्ड पुगेको नेपालको एकमात्र आयोजनास्थल हो, दशरथ रंगशाला । २०१२ सालमा निर्मित रंगशालाले पुनर्निर्माणपछि प्रतिष्ठित प्रतियोगिताहरू दक्षिण एसियाली खेलकुद र साफ च्याम्पियनसिप दुई–दुईपल्ट तथा फुटबलकै एएफसी च्यालेन्ज कप पनि आयोजना गर्‍यो ।

यसलाई पुरुषको राष्ट्रिय फुटबल टिमले ‘होम ग्राउन्ड’ बनाएको पनि ३५ वर्ष भयो । महिला राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न थालेको ३५ वर्ष भयो । महिला टिमले विराटनगर, पोखरा र सातदोबाटोमा खेलेको थियो तर देशकै खेलकुदको मुख्य थलोमा ‘फिफा मापदण्ड’ को अन्तर्राष्ट्रिय खेल्ने अवसर बिहीबारमात्रै पायो ।

टिम कप्तान रेनुका नगरकोटेले घरेलु प्रतियोगिता खेले पनि पहिलोपल्ट दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्दा उत्साहित भएको बताइन् । ‘देशकै मुख्य रंगशालामा खेल्दा सुरुमा केही नर्भस त भएँ,’ उनले भनिन्, ‘यो अवसरको खेल जित्यौं, खुसी लाग्यो । रमाइलो पनि भयो ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्