Logo
Logo

एमसीसीः जति छलफल, उति अलमल



काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारीहरू नेपालको संसद्बाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेका छन् ।

नेपाल सरकारका प्रश्नमाथि लिखित जवाफ दिएलगत्तै एमसीसीका अधिकारीहरूले राजनीतिक दलका नेतालाई छुट्टाछुट्टै भेटेर ‘लबिइङ’ पनि गरिरहेका छन् । तर सम्झौता संशोधन गर्नुपर्ने केही दलको माग र हस्ताक्षर भइसकेकाले अब संशोधन गर्न नसकिने एमसीसीको अडानबीच सम्झौताको गाँठो खुकुलो भएको छैन ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार बिहान ९ बजे काठमाडौं ओर्लिएलगत्तै भेटघाटमा खटेको छ । एमसीसी र सरकारबीच सन् २०१६ मा हस्ताक्षर भए पनि दलहरूबीच सहमति हुन नसक्दा संसद्बाट अनुमोदन हुन सकेको छैन । सत्ता र प्रतिपक्षमा हुँदा दलका अभिव्यक्ति नै बदलिँदै आएका छन् ।

चारदिने भ्रमणमा आएको सुमारको टोलीले पहिलो दिन पहिलो भेट प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको थियो । त्यस्तै साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि छलफल भएको छ ।

तर एमाले र एकीकृत समाजवादीका नेताहरूले एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा ठोस वचनबद्धता प्रकट गरेनन् । बालकोटस्थित ओली निवासमा पुगेकी उपाध्यक्ष सुमार र ओलीबीच झन्डै ४५ मिनेट संवाद भएको थियो ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार उपाध्यक्ष सुमारले एमसीसी सम्झौतालाई अगाडि बढाउने सम्बन्धमा ओलीसँग जिज्ञासा राखेकी थिइन् । ओलीले आफू सत्तामा रहँदा सम्झौता पास गराउन पहल गरेको स्मरण गराउँदै अहिले भने ‘बल सत्तापक्षको कोर्टमा भएकाले’ अहिले नै स्पष्ट निर्णय नगरेको जानकारी गराएका थिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्