Logo
Logo

परिवारका ६ जनाको हत्यामा प्रहरीले अझै भेटेन ‘क्लु’



संखुवासभा । मादी नगरपालिका–१ मा भएको सामूहिक हत्याको चार दिन बित्दा पनि प्रहरीले ‘क्लु’ भेटेको छैन । घटनास्थलमा खटिएका संघदेखि जिल्लासम्मका प्रहरीका चार टोलीले अनुसन्धान सकारात्मक रहेको बताउँदै आएका छन् तर कसैलाई पक्राउ गर्न सकेका छैनन् ।

घटनाकै दिनबाट संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको विशेष प्रहरी टोली घटनास्थलमा छ । त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, प्रदेश प्रहरी कार्यालयको टोली तथा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चैनपुरको टोली अनुसन्धानमा खटिएको छ ।

देश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी पनि घटनास्थलमा पुगेका छन् । यति धेरै प्रहरी परिचालन भए पनि घटनाको चार दिनसम्म हत्यामा संलग्न व्यक्ति भेटिएको छैन । घटनाको ‘क्लु’ पत्ता लागेको प्रहरी स्रोतले बताएको छ तर अनुसन्धानमा खटिएका प्रहरीले केही खुलाएका छैनन् । हत्याको कारण र हत्यारा फेला नपर्दा सर्वसाधारणमा त्रास बढेको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले बताए । प्रहरीले भने प्राविधिक कोणबाटै केही प्रमाण भेटिने आशामा अनुसन्धान गरिरहेको दाबी गरेको छ ।

घटनाअघिको सात दिन र घटनापछिको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा ठोस उपलब्धि हात नपरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् । घटनास्थलदेखि करिब १० किलोमिटर रेन्जमा रहेको दुईवटा बीटीएस टावरबाट कनेक्ट भएका करिब सयभन्दा बढी सक्रिय मोबाइल नम्बरको विश्लेषण गर्दा शंकास्पद केही नदेखिएको प्रहरी स्रोत बताउँछ । त्यस क्षेत्रमा एनसेल र एनटीसीको सेवा विस्तार भए पनि मृतक तेजबहादुर कार्कीको घर आसपास दुवै नेटवर्कको रेन्ज कम छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्