Logo
Logo
एमालेमा पुनः विवाद

ओलीबाटै १० बुँदे उल्लङ्घन, तेस्रो धारका नेता संकटमा



काठमाडौं । पार्टी विभाजनपछि पनि नेकपा एमाले भित्रको विवाद समाधान हुन सकेको छैन । १० बुँदे प्रस्ताव कार्यान्वयन नहुँदा एमालेमा पुनः ‘खटपट’ सुरु भएको हो ।

एमाले विभाजन नहुँदै पार्टी एकता कायम राख्ने भन्दै दोस्रो तहका नेताले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव अघि सारेका थिए । तर, उक्त प्रस्तावले एमाले विभाजन रोक्न सकेन ।

एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुरमा नेपालको नेतृत्वमा नयाँ पार्टी गठन भयो । सोही क्रममा माधवसँगै रहँदै आएका केही नेता मुल पार्टीमै फर्कदा १० बुँदेको आधारमा अघि बढ्ने सहमति भएको थियो । तर, अहिले १० बुँदे कार्यान्वयन नभएपछि एमालेमा पुनः विवाद सुरु भएको हो । १० बुँदे कार्यान्वयन नभएपछि तेस्रो धारका नेता संकटमा परेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता जनाएका थिए । तर, ओलीबाट १० बुँदे कार्यान्वयनको प्रतिवद्धताअनुसार काम नभएको भन्दै तेस्रो धारका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन् ।

योगेशले पाएनन् प्रवक्ताको जिम्मेवारी
एमालेको पछिल्लो गतिविधि हेर्दा १० बुँदे कार्यान्वयन भएको देखिँदैन । १० बुँदे प्रस्तावअनुसार पार्टी २०७५ जेठ २ मा फर्कनुपर्ने हुन्छ । त्यो अवस्थामा सचिव योगेश भट्टराई पार्टीको प्रवक्ता हुनुपर्ने हो । तर, एमालेका अर्का सचिव प्रदीप ज्ञवालीले प्रवक्ताको रूपमा काम गरिरहेका छन् । ज्ञवालीकै नाममा विज्ञप्ति जारी हुँदै आएको छ । एमाले ओली–नेपाल समूहको रूपमा विभाजित हुँदा ज्ञवालीले ओली समूहबाट प्रवक्ताको जिम्मेवारी पाएका थिए । हाल ज्ञवाली नै प्रवक्ता छन् । यसले एमालेमा १० बुँदे कार्यान्वयन नभएको पुष्टि हुन्छ ।

ओली पक्षको एक्ललौटी निर्णयमा पीपीएलए भेला
केही दिन अगाडि एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न भयो । तर, पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाललाई भेलाबारे जानकारी नै थिएन । सामाजिक संजालबाट भेला हुँदै गरेको थाहा पाएपछि अध्यक्ष नेपालले भेला आधिकारिक नभएको भन्दै सहभागी नहुन सर्वजनिक अपिल नै गरे ।

पीपीएलए इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तलाई पनि जानकारी भएन । ओली समूहले एकपक्षीय रूपमा भेला गर्न लागेको थाहा पाएपछि पन्तले भेला रोक्न आग्रह गरे । तर, उनको आग्रह सुनुवाइ भएन ।

ओली स्वयम् भेलामा प्रमुख अतिथिको रूपमा सहभागी हुने तयारी थियो । तर, विरोध भएपछि ओली भने भेलामा गएनन् । ओलीले सचिव प्रदीप ज्ञवालीलाई पठाएर भेला कार्यक्रम सम्पन्न गरे । भेलामा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरूको सहभागी थिए ।

ओलीबाट १० बुँदे उल्लङ्घन
गत ९ भदौमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गर्दै परिपत्र गर्यो । सोही आधारमा माधव समूह छोडेकाहरू ओलीसँग रहन तयार भए । तर, अध्यक्ष ओली एक्लौटी रूपमा अघि बढ्न थालेपछि एमालेमा पुनः विवाद सुरु भएको हो । असन्तुष्ट एक नेताका अनुसार १० बुँदे कार्यान्वयन गर्ने प्रतिवद्धता आए पनि त्यो कार्यान्वयन भएको छैन ।

पार्टीलाई २ जेठको अवस्थामा फर्काउने क्रममा कुनै विवाद भए समाधान गर्न कार्यदलसमेत गठन गरिएको छ । एमालेले सम्पूर्ण जनसंगठनको एकीकरण व्यवस्थित गर्ने सम्बन्धमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिइएको छ । तर, आध्यक्ष ओली भने एक्लौटी रूपमा अगाडि बढेको आरोप लाग्ने गरेको छ ।

ईश्वरको इशारामा गतिविधि
पछिल्लोपटक बसेको स्थायी कमिटी बैठकमा एमाले महासचिव पोखरेलले १० बुँदे सहमति हुबहु लागु नहुने बताएका थिए । तर, खगराज अधिकारी, पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेत लगायत नेताले विरोध गरेपछि रक्षात्मक बनेका महासचिव पोखरेलकै निर्देशनमा यस्ता कार्यक्रम हुन थालेको एमाले स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्