Logo
Logo

‘मन्त्रिपरिषद् विस्तार सोमबारभित्र’



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा देउवाले सत्ता साझेदार दलसँग मन्त्रीका लागि यथाशीघ्र नाम सिफारिस गर्न आग्रह गरेका छन्  ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ,’ उनले भने, ‘कुन दलले कति मन्त्रालय पाउने टुंगो लाग्न बाँकी छ ।’

जसपा र एकीकृत समाजवादीका नेताले आफ्ना जनप्रतिनिधिको टुंगो निर्वाचन आयोगले आइतबारसम्म लगाउने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्नु उचित हुने बताएका छन् ।

कांग्रेसका एक नेताले पनि सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा देउवा रहेको बताए  । गठबन्धनको बैठकमा दलहरूले पाउने मन्त्री र मन्त्रालय संख्याबारे पनि छलफल भएको उनले जानकारी दिए  । देउवाको नेतृत्वमा सरकार गठन भएको २ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् ६ सदस्यीय मात्र छ । कांग्रेसबाट प्रधानमन्त्रीसहित ४ जना (एक राज्यमन्त्री) र माओवादी केन्द्रबाट २ जना मन्त्री छन् ।

एमालेका तत्कालीन १४ सांसदका विषयमा भएको निर्णयलाई लिएर सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाले पनि मन्त्रिपरिष्द विस्तारमा ढिलाइ भएको एक नेताले बताए । ‘सरकारमा नजाने भए पनि हाम्रो दलले मन्त्रिपरिषद् विस्तार छिटो हुनुपर्छ भनिरहेको छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् ।

उनका अनुसार गठबन्धन दलको बैठकमा नेताहरूले एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भएको भेटबारे ब्रिफिङ पनि गरेका थिए । बैठकमा संसद्मा पेस भएका र पेस गर्नुपर्ने अध्यादेश प्रतिस्थापनसम्बन्धी विधेयक कसरी अघि बढाउने भन्नेबारे पनि छलफल भएको थियो ।

गठबन्धनको बैठक शुक्रबार साँझ पनि बसेको थियो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने काठमाडौं बाहिर रहेकाले बैठकमा सहभागी थिएनन् । उक्त दलबाट नेताद्वय राजेन्द्र पाण्डे र विरोध खतिवडा सहभागी थिए ।

खतिवडाका अनुसार साँझको बैठकमा एमसीसी सम्झौताका विषयमा छलफल भएको जानकारी दिए । ‘अब एमसीसीलाई कुनै दलले चाहेर एक्लै पास गर्ने वा कसैले चाहँदैमा फिर्ता गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले सबैले आफ्नो दलभित्र छलफल गर्ने र त्यसपछि एक–दुई दिनमै सामूहिक बसाइ गरेर टुंगोमा पुर्‍याउने भन्ने कुरा आएको छ ।’

शुक्रबार बिहानको बैठकमा कांग्रेसबाट सभापति देउवाका साथै महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए ।

यो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्