Logo
Logo

एमसीसी अस्वीकार गर्ने भन्ने हाम्रो मत होइन : नेता भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमसीसीबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेका निर्णयमै एमाले अडिग रहेको बताएका छन् । शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सत्तारुढ गठबन्धनले पहिले एमसीसीलाई संसद्मा टेबुल गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यसपछि एमालेले बोल्ने बताउँदै उनले भने, ‘टेबुल गर्दा जस्ताको त्यस्तै गर्नुहुन्छ वा संशोधन गर्नुहुन्छ, त्यो क्लियर छैन ।’ उनले नेकपा हुँदा नै एमसीसीबारे निर्णय गर्न तीन सदस्यीय कार्यदल बनेको स्मरण गराए ।

उनले भने, ‘केही संशोधनसहित एमसीसीलाई बढाउने सुझाव त्यो कार्यदलले दिएको हो । यसको अर्थ एमसीसीलाई अघि अस्वीकार गर्ने भन्ने हाम्रो मत होइन ।’ नेता भट्टराईले राष्ट्र हितमा प्रावधान राखेर एमसीसी अघि बढाउने भन्नेमा एमालेको निर्णय कायम रहेको बताए ।

एमालेभित्र लामो समय अन्तरिक किचलोपछि माधव नेपालको नेतृत्वमा नेकपा समाजवादी गठन भएको छ । तर, घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेताहरु भने एमालेमै रहेका छन् । पार्टीको विवाद हल गर्नका लागि प्रस्ताव गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न संस्थापन पक्ष तयार देखिएपछि उनीहरुले एमालेमै रहने निर्णय लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्