Logo
Logo

‘अमेरिकाले एमसीसीमा सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्छ’



नेपालगञ्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताएका छन् ।

युवा सङ्घ नेपाल लुम्बिनी प्रदेशस्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जनसहित अनुमोदन हुनुपर्ने बताए । एमसीसीले देशको आन्तरिक मामिलामा खलल नपुर्‍याइ देश विकासमा मात्रै सीमित हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताए । एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा उनले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको बताए । ‘शुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गर्नु पर्‍यो । यो परियोजनामा विकासको कुरा मात्रै छ भन्नु पर्‍यो ।’

यस्तै कार्यक्रममा बोल्दै उनले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिए । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उनले संसदमा नाटक प्रदर्शन भइरहेको टिप्पणी गरे । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएको पनि उनले बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण दुई तिहाई सरकार फेल भएको बताए । नेता नेपालले कतिपय प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी ठूलो भएको बताए । सुदूरपश्चिम प्रदेश र २ नम्बर प्रदेशमा एकीकृत (एस) एमालेभन्दा ठूलो पार्टी भइसकेको उनले उल्लेख गरे । उनले वागमती प्रदेशमा एमाले नेतृत्वको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्