Logo
Logo

इञ्चार्ज माग्दै बालकोट पुगेका रावललाई ओलीले थर्काएर पठाए


सन्तोष साह


काठमाडौं । पार्टी विभाजन हुँदा एमालेमै फर्केका तेस्रो धारका नेता जिम्मेवारी विहीन छन् । उनीहरु बेला–बेला जिम्मेवारी माग्न पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुग्ने गरेका छन् । तर, ओलीले थर्काउँदै पठाउने गरेका छन् ।

आइतबार बिहान एमालेका उपाध्यक्ष भीम रावल सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्ज माग्दै ओली निवास बालकोट पुगेका थिए । तर, ओलीले थर्काएपछि रावल नाजवाफ भएर फर्के ।

१० बुँदे प्रस्तावको आधारमा २०७५ जेठ २ को अवस्थाबाट पार्टी संचालन गर्ने सहमतिअनुसार आफूहरु पार्टीमा फर्केको र सो अवस्थामा आफू नै सुदूरपश्चिमको इञ्चार्ज रहेको रावलको दावी थियो । तर, अध्यक्ष ओलीले लेखराज भट्टलाई इञ्चार्ज तोकिसकिएको अवस्थामा इञ्चार्ज माग्नु उपयुक्त नभएको भन्दै ‘तपाई उपाध्यक्ष हुनुहुन्छ । अहिले इञ्चार्ज खोज्न जरुरी छैन । उपाध्यक्षकै हैसियतमा पार्टीको काममा लाग्नुस्’ भनेर फर्काए ।

आजको छलफलमा ओलीले १० बुँदे कार्यान्वयनको अवस्था नरहेको समेत बताएका थिए । ओलीले भनेका थिए– ‘२ जेठ २०७५ जस्ताको त्यस्तै कार्यान्वयन हुन सक्दैन् । कार्यविभाजन यथावत छ, जिम्मेवारी परिवर्तन भएको छैन् । तपाई उपाध्यक्ष हो, उपाध्यक्षकै हैसियतमा सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’

पार्टी संरचनामा कुनै फेरबदर नगरिएको बताउँदै ओलीले १० बुँदेमा अल्झिएर नबस्न भनेको बेला प्रदेश इन्चार्ज आफू नै रहेको दावी गर्दै आएका रावल नाजवाफ भए । एक शब्द पनि नबोली वालकोटबाट बाहिरिए ।

एमालेले १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र थापालाई जिम्मेवारी दिएको छलफलमा सहभागी एक नेताले बताए ।

केन्द्रीय सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष थापाले आफूसहित तीन जना नेताले सुदूरपश्चिममा सहजीकरणको जिम्मेवारी अध्यक्षबाट पाएको बताए । ‘सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्ज लेखराजजी र अध्यक्ष म नै हो । उपाध्यक्ष भएको नाताले उहाँ (रावल)ले समेत गरी तीन जनाले सहजीकरणको जिम्मेवारी पाएका छौं’ थापाले भने ।

ओली निवास बालकोटमा आज बिहान सुदूरपश्चिम प्रदेश कमिटको बारेमा छलफल भएको थियो । छलफलमा अध्यक्ष ओली, उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्धय सुवास नेम्वाङ, लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा सहभागी थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्यूँताएपछि पार्टीभित्र विवाद चर्किएको थियो । त्यसपछि २७ असारमा ओली र माधवकुमार नेपाल समूहबाट पाँच–पाँच जना नेता सहभागी एक कार्यदलले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव गर्दै सहमती गरेका थिए ।

प्रस्तावमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

सोही सहमतिअनुसार रावलले सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्ज दावी गर्दै आएका हुन् । तर ओलीले यस अघि नै भट्टलाई इन्चार्ज तोकिसकेका छन् । र, १० बुँदे कार्यान्वयन नहुने समेत भन्दै आएका छन् । त्यसैले रावलले इञ्चार्जको जिम्मेवारी नपाउने पक्का जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्